खेलकुद

दमककी ‘हिरन्मयी’को टुटेको क्रिकेट सपना !

By admin

June 14, 2022

दमक । मलेसियामा हुने एसीसी महिला टी-२० अन्तर्राष्ट्रिय छनोट क्रिकेटमा भाग लिन नेपाली महिला टोली बुधबार विदेश उड्दैछ । तर, १५ वर्षीया महिला क्रिकेटर हिरन्मयी राय त्यसै दिन गृह जिल्ला झापा फर्किँदैछिन्। अनागरिक बाबुकी छोरी हिरन्मयीले नागरिकताविहीन भएकै कारण अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा डेब्यू गर्न वञ्चित भएकी छन्। उनलाई आफ्नो करियरको पहिलो ‘गाँसमै ढुंगा’ लागेको छ ।

 

‘नागरिकता नहुँदा ट्राभल डकुमेन्ट बन्न सकेन’, दमक ४ स्थित डेराको घरमा बुबा वीरेन रायले दुखेसो पोखे,‘नागरिकता विहीन हुँदा छोरीको सपना टुट्यो ।’

 

भर्खरै उनी एसईई परीक्षाको तयारी गर्दै थिइन्। क्यानबाट अचानक फोन आयो, ‘तिमी राष्ट्रिय टिमको क्लोज क्याम्पमा पर्‍यौ, तुरुन्त काठमाडौ आउनू ।’ उनी अन्तिम तयारी गरिरहेको एसईई परीक्षा थाती राखेर काठमाडौं पुगिन् । उनको खेल कौशल देखेर प्रशिक्षकहरुले राष्ट्रिय टोलीको अन्मित १४ मा उनलाई समेटेका थिए ।

 

तर, विदेश जान चाहिने कागजात अभावले उनको अन्तर्राष्ट्रिय मैदानमा क्रिकेट खेल्ने सपना चकनाचुर भयो । ‘छोरीले एसईई दिन पाइनन्, विदेश जान पनि’, बुबा वीरेनले थपे, ‘दुवै सपनामा ठेस पुग्यो ।’

 

वीरेनका जुम्ल्याहा छोरीहरु हिरन्मयी र हैमवतीको सानैदेखि क्रिकेटमै लगाव थियो । सडक किनारमा काठको मुंग्रो र सस्तो टेनिस बल खेल्थे । त्यही मोहले दुवै दिदी बहिनी क्रिकेटमा अब्बल छन्। जेठी हिरन्मयी लेग स्पिनर हुन् । बहिनी हैमवती चाहिँ फाष्ट बलर । हैमवती प्रदेश १ को टोलीमा छिन्। कक्षा–८ मा पढ्दै गर्दा दिदी बहिनीको क्रिकेट मोह नियालीरहेका एक शिक्षकले दमकमा प्याट्रियोटिक क्रिकेट एकेडेमीमा प्रशिक्षण सिक्न सुझाएका थिए ।

 

‘अहिले पनि त्यही एकेडेमीमा हामी सिकिरहेका छौं’, बहिनी हैमवतीले भनिन्। वीरेन २०३७-०३८ भारतको पश्चिम बंगालको जलपाइगुडीबाट नेपाल आएका थिए। उनको नेपाल यात्रा रोचक छ । जलपाइगुडीमै प्रसाई थरका नेपाली परिवार बस्थे । उनीहरु वीरेनका छिमेकी थिए । घनिष्ठ साथीको परिवार एक दिन घर जग्गा बेचेर नेपाल फर्किने भए ।

 

वीरेन निक्कै लामो समय बिरक्तिएर उतै बसे । १३, १४ वर्षको उमेरमा उनी ती प्रसाई परिवारलाई खोज्दै दमक आइपुगेछन् । प्रसाई परिवारकै छत्रछायामा बसेर उनले मजदुरी गरे । अधिया खेती गरे । पछि मिस्त्री काम सिकेपछि उनलाई गुजारा चलाउन अलि सहज भयो ।

 

चरम गरिबीलाई छिचोल्दै उनले अहिले खाजा पसल चलाएर परिवारको गुजारा चलाउँदै आएका छन्। ‘खाजा बेचेको पैसाले छोरीहरुलाई क्रिकेटमा सघाइरहेको छु’, वीरेनले थपे,‘छोरीहरुको क्रिकेट मोहप्रति म सकारात्मक छु ।’ यो समाचार इकान्तिपुरमा पर्वत पोर्तेलले लेखेका छन् ।