समाज

ताप्लेजुङको खेवाङमा पहिरोले ५३ परिवार विस्थापित

By admin

June 18, 2022

ताप्लेजुङ । दुई जनाको मृत्यु भइसकेको सिरिजंगा गाउँपालिका ७ खेवाङमा पहिरोका कारण ५३ परिवार विस्थापित भएका छन् । वडाध्यक्ष बुद्ध दाहालका अनुसार पानी पर्ने क्रम नरोकिएकाले विस्थापित हुने क्रम अझै बड्ने देखिएको छ । एकदेखि अर्को बस्तीमा जाने उपाय नभएकाले समस्या जटिल भएको उनले टेलिफोनमा जानकारी दिए ।

 

दाहालका अनुसार तेम्फु र तुमाङखे क्षेत्रका मानिस सबैभन्दा बढी विस्थापित भएका छन् । हिजो शुक्रबार तेम्फुका ३० र आज तुमाङखेका २३ घर विस्थापित भएको दाहालले बताए । एकदेखि अर्को बस्ती जाने उपाय नभएकाले उनीहरु आफन्त, छरछिमेक भेला भएर डाँडामा बसेका छन् । शुक्रबार विस्थापित भएकामध्ये कतिपय कञ्चनजंघा आधारभूत विद्यालय तीन ढाँडेमा गएर बसेका छन् ।

 

सुर्के, सिवोक, गुरासे, तुम्याङको शिरानबाट झरेको पहिरोले जोखिम बढाएको दाहालले बताए । दुई वर्षअघि बनाएको स्वास्थ्य चौकी भवन पनि पहिरोले तान्न थालेको छ ।

 

बिहीबारको बाढीले सिवाखोला विद्युत् गृहको मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध छ । विद्युत् नहुँदा यहाँको टेलिफोन टावर मज्जाले घाम लाग्दा मात्रै चल्छ ।

 

पहिरोले पुरेर बिहीबार एकाघरका सासु बुहारीको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । घाइतेको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

 

बिहीबार बिहानको पहिरोले फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा एक घर बगाएको र वाड नं १ सावादिनमा पशुचौपाया बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो समाचार इकान्तिपुर डटकममा छ ।