अर्थ बजार

अर्जुनधारामा सहकारीका सदस्यलाई आधारभूत सचेतना तालिम

By admin

June 23, 2022

शनिश्चरे । नगर सामाजिक विकास शाखाको आयोजनामा अर्जुनधारा नगर क्षेत्रमा रहेका सहकारी संस्थाका शेयर सदस्यलाई दुई दिवसीय आधारभूत सहकारी सचेतना तालिम दिइएको छ ।

 

झापाको अर्जुनधारा नगरपालिका कार्यक्षेत्र भई सञ्चालनरत् सहकारी संस्थाका शेयर सदस्यहरुलाई लक्षित गरी अर्जुनधारा ८ स्थित सामुदायिक भवनमा आयोजित उक्त तालिमको नगर उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

 

तालिममा सहकारीको पृष्ठभूमि, उद्देश्य तथा आवश्यकता, सहकारीका सिद्धान्त तथा मूल्यमान्यता, सहकारी संस्था सञ्चालनका नीतिगत तथा कानूनी पक्ष, सदस्य वित्तीय साक्षरतालगायत विषयवस्तुबारे सहभागीहरुलाई जानकारी गराइएको छ ।

 

साना किसान विकास बैंक इलाका कार्यालय बिर्तामोडका प्रबन्धक सुवास गौतम र कर्मचारी द्रोणराज घिमिरेको सहजीकरण रहेको उक्त तालिममा ५० जनाभन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको शाखा प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।

 

सामाजिक विकास समितिका संयोजक एवम् नगर कार्यपालिका सदस्य कौशीलाल परियार ‘भोला’ले स्वागत गरेको कार्यक्रममा अर्जुनधारा ८ वडा समितिका अध्यक्ष कुमारप्रसाद उप्रेतीले सहकारीका विषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन शाखा प्रमुख खड्काले गरेका थिए ।