स्वास्थ्य

अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

By admin

June 29, 2022

शनिश्चरे । सरकारको निर्णयअनुसार नेपाललाई पूर्ण खोप देश घोषणा गर्ने राष्ट्रिय लक्ष्यअनुरुप झापाको अर्जुनधारा नगरपालिकालाई बुधबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । अर्जुनधारा नगरपालिकाको खाेप समन्वय समितिले आयोजना गरेको एक कार्यक्रममा नगरकी उपप्रमुख खड्गमाया पराजुलीले नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गर्दैै प्रतिवद्धतासमेत जनाएकी हुन् ।

 

नगरमा १५ महिनासम्मका बालबालिकाले पूर्ण खोप लगाएको वडागतरुपमा सर्वेक्षण गरेपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । यस अवधिमा १२० प्रतिशत खोप लगाइएको जनाइएको छ ।

 

खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार यस वर्ष ९८७ जनालाई दादुरा, रुवेलाको खोप लगाउने लक्ष्य लिइएको भए पनि १ हजार १८६ जना बालबालिकालाई खोप लगाइएको छ । अर्जुनधारा स्वास्थ्य चौकीमा ३५२ जना, शनिश्चरेमा ५५७ जना र खुदुनाबारीमा ३०६ जना बालबालिकालाई खोप लगाइएको बताइएको छ ।

 

यसैगरी, डिपिटि खोप ११९ प्रतिशत लगाइएको छ । जसअनुसार नगरका १ हजार २०३ जना बालबालिकालाई लगाइएको छ ।

 

कार्यक्रममा नगर प्रमुख बलदेव सिंह गोम्देनले नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको बताउँदै स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउन योजना बनिरहेको पनि बताए । प्रत्येक शाखाको मासिकरुपमा कार्य सम्पादनको मूल्यांकन गरिने बताउँदै उनले नगरलाई कार्य सम्पादनमा उत्कृष्ट बनाउनका लागि आफ्नो क्षेत्रमा अपनत्वसहित काम गर्न निर्देशन पनि दिए ।

 

उपप्रमुख पराजुलीले पूर्ण खोप सुनिश्चितता गर्नका लागि अहोरात्र खट्ने स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलगायतलाई धन्यवाद दिँदै सकेसम्म नगरबाट उच्च मूल्यांकन हुने आश्वासन दिइन् ।

 

कार्यक्रममा स्वास्थ्यकर्मी दुर्गा भट्टराईले स्वास्थ्य स्वयंसेविकाहरुको अथक प्रयासले नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सम्भव भएको सुनाए । पूर्ण खोप लगाइसकेपछि बाल मृत्युदर घट्ने विश्वास व्यक्त गर्दै उनले स्वास्थ्यकर्मीको समस्याबारे आफ्ना भनाइ राखेका थिए ।

 

नगर पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेपछि उपप्रमुख पराजुलीले नगरका ११ वटै वडा कार्यालयलाई पनि पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

 

 

गंगा सुवेदी उत्कृष्ट स्वयंसेविका यसैबीच, अर्जुनधारा नगरपालिका क्षेत्रमा खटिएका स्वास्थ्य स्वयंसेमिकामध्ये वडा नम्बर ११ की गंगा सुवेदी उत्कृष्ट घोषित भएकी छन् । नगरमा रहेका ३५ जना स्वयंसेविकामध्ये सुवेदी उत्कृष्ट घोषित भएकी हुन् ।