अर्थ बजार

काँकरभिट्टा नाकाबाटै भित्रियो ४६ करोडको फलफूल

By admin

June 30, 2022

झापा । पूर्वी नाका काँकरभिट्टाहुँदै ४६ करोड मूल्य बराबरको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक बर्ष २०७८/०७९ को जेठ मसान्तसम्ममा ४५ करोड ९७ लाख २७ हजारबराबरको आठ हजार २३६ मेट्रिक टन फलफूल आयात भएको हो ।

 

आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुर वापत मात्र १२ लाख रूपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख देविन्द्र साहुले बताए । सो अवधिमा सबैभन्दा बढी स्याउ चीनबाट आयात भएको छ । उनका अनुसार रु। २९ करोड ७३ लाख ७ हजार मूल्य बराबरको ४ हजार ६४५ मेट्रिक टन स्याउ आयात भएको छ ।

 

यो नाका भएर १० महिनाको अवधिमा भूईकटहर मात्र चार करोड ५१ लाख १० हजार रूपैयाँबराबरको एक हजार ८७८ मेट्रिक टन आयात भएको छ ।

 

त्यसैगरी १२ लाख ८० हजार रुपैयाँको ४६ मेट्रिक टन केरा, ७९ लाख ५१ हजार रुपैयाँको नरिवल, ६७ लाख ७० हजारको जुनार, ४९ लाख ४९ हजारको आप, दुई करोड ९७ लाखको अनार, ७७ लाख ६१ हजारको अंगुर, एक करोड ७८ लाख ७८ हजारको सुन्तला, ३६ लाख ७३ हजारको नास्पति, पाँच लाख ९८ हजारको अम्बा, ९३ लाख ८४ हजार बराबरको खर्बुजा आयात भएको कार्यालयले जनाएको छ ।

 

उनले सबैभन्दा बढी भारत र चीनबाट फलफूल आयात भएको जानकारी दिए । यो नाका भएर आउने फलफूल प्रदेश नम्बर १ का बजारदेखि काठमाडौंसम्म पुग्ने गरेको उनको भनाइ छ ।