अर्थ बजार

अर्जुनधाराको इन्द्रपुरी गार्डेन नयाँ प्याकेजसहित पुनः सञ्चालनमा

By admin

June 30, 2022

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाको पुरानो बजार शनिश्चरे नजिकमा रहेको इन्द्रपुरी गार्डेन होटल एण्ड लज नयाँ प्याकेजसहित पुनः सञ्चालनमा आएको छ । यो होटल सेवा शुरु गरेको पाँच महिनामा नै कोभिड १९ का कारण बन्द भएको थियो । शनिश्चरे बजारदेखि करिब १ किलाेमिटर पश्चिममा याे हाेटल रहेकाे छ ।

 

झापाको अर्जुनधारा ७ स्थित इन्द्रपुरी गार्डेन २६ महिनापछि पुनः सञ्चालनमा आएको हो । प्रारम्भिक लगानी ५० लाख रुपैयाँको लागतमा स्थानीय युवा व्यवसायी इन्दिवर खड्काले सञ्चालन गरेको होटलमा सेवाग्राहीको लागि थप सुविधासहित सञ्चालनमा ल्याइएको पत्रकार भेटघाटमा बताइयो ।

 

नगरपालिकाभित्र रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धनसँगै नगरमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि २०७६ कात्तिकदेखि सेवा सुरु गरेको उक्त होटलले हन्डीमा पकाएको मासुको परिकारलाई विशेष खान्कीको रुपमा लिएको उनले बताए । यहाँ चिकन र मटनको आइटमलाई होटलले सेवाग्राहीको इच्छाअनुसार सस्तो मूल्यमा उपलब्ध गराउने उनको भनाइ छ ।

 

त्यसैगरी सञ्चालक खड्काको दावी अनुसार पूर्वमा पहिलोपटक सेवाग्राहीका लागि आर्चरी (धनुकाँड) खेल सञ्चालन गरिएको उक्त होटल परिसरमा आगामी दिनमा मिनी फुटबल, क्रिकेट नेट अभ्यासलगायत खेलकुदका गतिविधिहरु पनि सञ्चालनमा गरिने छ ।

 

चार विघा क्षेत्रफल रहेको होटलमा एउटा एसी कोठासहित जम्मा छ वटा कोठा, ६० जना क्षमताको सभाहल, बैठक कक्ष, चार वटा कटेज, बगैंचा आदि रहेको सञ्चालक खड्काले जानकारी दिए ।

 

होटलले ‘महत्वपूर्ण व्यक्ति’ कार्यक्रममार्फत् निश्चित शुल्क लिई सदस्यता विस्तार गर्ने, आन्तरिक पर्यटकहरुको लागि प्रति व्यक्ति पाँच सय रुपैयाँ शुल्क लिई खानासहित एक रातको बासलगायतका सुविधा पनि सुरु गरेको सञ्चालक खड्काले बताए ।