खेलकुद

एनआरटीको पोस्टमा इण्डोनेसियाको ५ गोल !

By admin

July 01, 2022

झापा (एजेन्सी) । मलेसियामा जारी टुवान याङ टेरुतमा (टीवाईटी) कपमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले आफ्नो पहिलो खेलमा फराकिलो हार बेहोरेको छ । एनआरटीले इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५-१ को फराकिलो हार बेहोरेको हो ।

 

पहिलो हाफमै ४-० ले पछि रहेको एनआरटीले दोस्रो हाफमा एक गोल थप्दा एक गोल बेहोरेको थियो । पेनाङमा बिहीबार राति भएको खेलमा कारोको फराकिलो जितमा जिलाङ प्रामुड्या र कार्डिनाटा टारिगानले समान दुई तथा मौलाना खालिदीले एक गोल गरे । एनआरटीका मेसुके इटिग्ने ओलोमोउले एक गोल फर्काए ।

 

पेनाङ शहरका प्रमुख मिस्टर याङले पद बहाली गरेको पहिलो बार्षिकोत्सवको अवसरमा आयोजना भएको टीवाइटी कपमा एनआरटीले अब २ जुलाईमा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

लिगको अंकको आधारमा विजेता र उपविजेता टोलीको टुंगो लाग्नेछ । टीवाईटी कपको विजेताले १० हजार मलेसियन रिंगेट तथा उपविजेताले ५ हजार मलेसियन रिंगेट प्राप्त गर्नेछ ।

 

टीवाइटी कपपछि एनआरटीले थाइल्याण्डमा विभिन्न क्लबसँग तीन मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । एक खेल थाई लिग वान क्लब छोनबुरी एफसीसँग खेल्ने पक्का भइसकेको छ ।