समाज

साहित्यकार दाहालले ल्याए एकैपटक तीन कृति

By admin

July 03, 2022

शिवसताक्षी । झापाली साहित्यकार उमानाथ दाहालको तीन वटा कृति शनिबार एकैपटक विमोचन भएको छ । शिवसताक्षी नगरपालिका ९ दूधे निवासी दाहालको बाल गीति कविता संग्रह ‘बाल संसार’, राष्ट्रिय गीत संग्रह ‘हाम्रो टोपी’ र कविता संग्रह ‘स्वानुभूति’को विमोचन भएको हो ।

 

नेपार प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य डा देवी नेपालले सतासीधाम साहित्य संगमले आयोजना गरेको कार्यक्रममा साहित्यकार दाहालका तिम्ल्याहा कृतिको विमोचन गरेका हुन् । यसअघि दाहालको कथा संग्रह ‘दश कथा’ बजारमा आएको थियो ।

 

शिक्षण पेशाबाट सेवा निवृत्त दाहाल साहित्य र समाजसेवामा पछिल्ला दिनमा सक्रिय छन् । सेवाबाट निवृत्त भएपछि बचेको समय साहित्य सिर्जना र समाजसेवामा लगाउँदै आएका दाहालले एकैपटक तीनवटा कृति बजारमा ल्याएपछि झापाली साहित्य सर्जक खुसी देखिएका छन् । लेखक पदम दाहालले भने, ‘कवि दाहालका कृतिले यो क्षेत्रको साहित्य गतिविधिको खडेरीलाई पुनर्जागृत गरेको छ ।’ कवि दाहालले बजारमा ल्याएका तीन वटै संग्रह विद्यालयका बालबालिकाका लागि अधिक उपयोगी हुने दाहालले बताएका छन् ।

 

दाहालको बाल गीति कविता संग्रहमा ९१ वटा कविता छन् । सबै कविता बाल लयमा गाउन सकिने लेकखकले बताएका छन् । गीति कविता संग्रहमा कवि दाहालले आफ्नै भूगोलका धार्मिक तथा पर्यटकीय क्षेत्र, मठमन्दिर, विद्यालय, बजार र बालबालिकाले दिनहुँ प्रयोग गर्ने वस्तुलाई प्राथमिकता दिएर समेटेका छन् ।

 

यस्तै स्वानुभूति कविता संग्रहमा पचासवटा कबिता समेटिएका छन् । उक्त संग्रहका समिक्षक साहित्यकार दिनानाथ सुवेदीले झापाली कविलाई स्वानुभूतिभित्रका कविताले लामो समय देखिको कविताको प्यास मेट्न सक्ने बताए । उनले भने, ‘आफ्नै परिवेस र जीवनसंग मिलेका कतिपय व्यवहारलाई कवि दाहालले कर्णप्रिय शव्द संयोजन गरेर कवितामा उतार्नु भएको छ ।’

 

स्वानुभूति कविता संग्रहमा मानिसभित्र हुने विचार र मनका भावनाहरु शव्दचित्रका रुपमा समेटिएका छन् । बरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेल भन्छन्, ‘स्वानुभूतिमा कविले व्यक्त गरेका भावनाहरु सरल र सरसका साथै सामान्य पाठकले पनि सजिलै बुझ्न सक्छन् ।’

 

पोखरेलका अनुसार कविताहरुको भाव पक्ष काव्यको आत्मा हो भने छन्द, लय, अलङकारजस्ता कुराहरु यसका शारीरिक अवयव हुन् । यसमा प्रायः एक पृष्ठका कविता भएको हुनाले त्यसलाई पढिसिध्याउन पाठकले आङ तानिरहनु पर्दैन । यो पनि कवि दाहालले सिर्जना गरेको स्वानुभूतिको विशेषता हो ।

 

संगीतकार रामचन्द्र अन्जानले कवि दाहाल लामो समयसम्म बालबालिकासँग व्यतित गरेका कारण बाल गीति कविता संग्रह प्रकाशन गरेर साहित्य क्षेत्रमा एक नक्षत्रका रुपमा स्थापित भएको बताए । उनले भने, ‘जीवनको लामो समय बालबालिकासँग बिताएकोले उनका गीतहरु बालबालिकाजस्तै निर्दोष र चञ्चले छन् ।’

 

कार्यक्रम सतासीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालको अध्यक्षता, उपाध्यक्ष पदमप्रसाद दाहालको स्वागत र सचिव यादव घिमिरेको संचालनमा भएको थियो । कार्यक्रममा गीतकार हस्त परियार, यदुनाथ दाहालले बाल गीति संग्रहको पुतलीको बिहे र राष्ट्रिय गीत संग्रहको नेपालको माटो गाएका थिए । यस्तै, सर्जकले कविता, गजल सुनाएका थिए ।