पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ७ बिहिदिनमा केही दिनअघि गएको पहिरोमा परी बेपत्ता भएका थप २ जना मृत फेला परेका छन् । शुक्रबार राति परेको मुसलधारे वर्षासँगै गएको पहिरोले घर बगाँउदा बेपत्ता भएकी ३८ वर्षीया गोमा मगर र उनकी १९ वर्षीया भतिजी एलिसा मगरलाई सुरक्षाकर्मी र स्थानीयले मृत अवस्थामा फेला पारेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर भने शनिबार मृत अवस्थामा भेटिएका थिए । उक्त पहिरोमा परेका ७१ वर्षीय दलबहादुर मगरलाई स्थानीयले शुक्रबार राति सकुशल उद्धार गरेका थिए ।
पहिरोमा ज्यान गुमाएका तीनै जनाको शव आवश्यक प्रक्रिया पुर्याएर आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरूको खोजीका लागि स्थानीयसहित सदरमुकामबाट खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले २ दिनदेखि प्रयास जारी राखेका थिए ।
पहिरो गएको क्षेत्रमा दलदले हिलो जम्नुका साथै छिनछिनमा पानी पर्दा उद्धार कार्यसमेत प्रभावित भएको थियो । सुरक्षाकर्मी र स्थानीयले जेसीभीको सहयोग लिएर उनीहरूको खोजी गरेका थिए । इकान्तिपुरबाट