समाज

अर्जुनधारा ८ का १५ किसानलाई २ लाखको निःशूल्क च्यापकटर

By admin

July 04, 2022

शनिश्चरे । अर्जुनधारा नगरपालिकाको ८ नम्बर वडा समितिले छनौटमा परेका १५ जना पशुपालक किसानलाई निःशूल्करुपमा १५ थान घाँस काट्ने मेसिन (च्यापकटर) वितरण गरेको छ ।

 

चालु आर्थिक वर्ष २०७८/७९ को वडास्तरीय योजनाअन्तर्गत वडा समितिको निर्णयबमोजिम प्राथमिकताका आधारमा १५ जना पशुधनीलाई २ लाख मूल्यबराबरको मेसिन वितरण गरिएको हो । वडा कार्यालयमा सोमबार बिहान आयोजित एक कार्यक्रममा वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले किसानका लागि उपयोगी हुने च्याप कटर वितरण गर्दै उचित सदुपयोग गर्न आग्रह गरे ।

 

वडामा रहेको ५ वटा टोल विकास समितिका ३ जनाका दरले मेसिन वितरण गरिएको हो । मेसिन पाउनेमा हरि धिमाल, विमला दंगाल, तारा काफ्ले, यदु खड्का, बुद्राइ हेमरम, लक्षिमा गिरी, मिलन अमात्य, नित्यनन्द सत्याल, चुडामणी खड्का, जंगली चौधरी, दविका बस्नेत, विनादे खतिवडा, पद्माकुमारी श्रेष्ठ, तुलसा कार्की र घनश्याम पौडेल रहेका छन् ।

 

मेसिनका लागि वडा समितिले गरेको निर्णयको आधारमा ४६ वटा निवेदन परेको थियो । तर, आर्थिक अवस्था कमजोर भएका, दुई वा सोभन्दा बढी पशु पालिरहेका र यसअघि सुविधा नलिएका किसानलाई वडा कार्यालयले मेसिन वितरण गरेको वडा सचिव प्रकाश पौडेलले जानकारी दिए ।