खेलकुद

अर्जुनधारा खेलमैदानको भोगाधिकार अब नगरपालिकालाई दिइने

By admin

July 06, 2022

अर्जुनधारा । लामो समयदेखि स्वामित्वको सवालमा विवादित बन्दै आएको अर्जुनधारा खेलमैदानको स्वामित्व अर्जुनधारा नगरपालिकालाई दिन सम्बन्धित सरोकारवाला संस्था सहमत भएका छन् । झापा अर्जुनधारा ७ मा रहेको समाज कल्याण उद्दार संघको मातहतमा रहेको अर्जुनधारा खेलमैदानको भोगाधिकार (स्वामित्व) नगरपालिकालाई दिने मौखिक सहमति भएको हो ।

 

संघीय सरकारको ‘एक स्थानीय तह, एक रंगशाला’ कार्यक्रम अन्र्तगत खेलमैदान हाल निर्माणाधीन अवस्थामा रहेको छ । स्थानीय फूलमती खोला किनारमा रहेको खेलमैदानमा वाल कम्पाउण्ड लगाउने काम अन्तिम चरणमा पुगेको छ । संस्थाको नाममा २ बिगाहा र ३ बिगाहा ८ कठ्ठा ऐलानी जग्गा रहेको खेलमैदान नगरकै एकमात्र धेरै क्षेत्रफल भएको मैदान हो । सबै क्षेत्रबाट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुट्दै आए पनि स्वामित्व कुन निकायमा रहने भन्ने अन्योलले संस्थाभित्रै विवाद सिर्जना हुँदै आएको थियो ।

 

तर, खेलमैदानको भोगाधिकार अर्जुनधारा नगरपालिकालाई दिन प्रक्रिया अगाडि बढाइने मौखिक सहमति जुटेपछि रंगशालाको निर्माण कार्यले निरन्तरता पाउने भएको छ । चालु आर्थिक वर्ष ०७८÷०७९मा निर्माण सम्पन्न भएको कम्पाउण्ड वालको आय–व्यय विवरण सार्वजनिक गर्न मंगलबार आयोजित भेलामा मन्तव्य राख्ने सबै सहभागीहरुले उक्त कार्यक्रम सफल बनाउन नगरपालिकालाई भोगाधिकार दिनुपर्ने सुझाव आएको थियो ।

 

सबैको रायसुझावपछि आयोजक समाज उद्धार कल्याण संघले सो प्रक्रिया अगाडि बढाउने भएको हो । निर्माण उपभोक्ता समिति एवम् संघका अध्यक्ष धर्मानन्द गुरागाईंले नगरपालिकालाई भोगाधिकार दिँदा संस्थाको उद्देश्य अनुसार रंगशाला निर्माणको कार्य सहजरुपमा सम्पन्न हुन्छ भने आफूले चाँडै संस्थामा आवश्यक छलफल गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

 

कार्यक्रममा संघका सल्लाहकार तथा नेपाली कांग्रेस प्रदेश नं १का सभापति उद्धव थापाले जमिनको स्वामित्व संस्थामै रहने गरी नगरपालिकालाई भोगाधिकार दिई गुरुयोजना तयार गरी कार्य गर्ने हो भने रंगशाला निर्माणको कार्यले चाँडै पूर्णता पाउने दाबी गरे । नगरपालिकालाई भोगाधिकार नदिई संस्था आफैँ अगाडि बढ्दा आवश्यक बजेट अभावमा रंगशालाको योजना विफल हुने उनको भनाइ छ ।

 

त्यसैगरी अर्का सल्लाहकार एवम् मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख कमल गुरागाईंले खेलमैदानको हितमा कार्य हुने गरी नगरपालिकालाई भोगाधिकार दिँदा रंगशाला बन्छ भने भोगाधिकार दिनुपर्ने सुझाएका छन् । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा ७ वडा समितिका वडाध्यक्ष गोविन्द खतिवडाले संस्थाको साधारणसभाबाट जमिनको स्वामित्व संस्थामा रहने गरी नगरपालिकालाई भोगाधिकार दिने निर्णय अनुमोदन गराउन सुझाव दिएका थिए ।

 

संघका अध्यक्ष गुरागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा निवर्तमान वडाध्यक्ष नवराम ढुंगाना, संघका सल्लाहकार भीमचन्द्र भट्टराई, अर्जुनधारा नगरपालिकाका तत्कालिन् रोजगार संयोजक केशव ढुङ्गेललगायतले आफ्नो धारणा राखेका थिए ।

 

यता नगरपालिकाका इन्जिनियर निरज अधिकारीले संस्थाबाट नगरपालिकालाई भोगाधिकार आउनु सकारात्मक कार्य हुने बताउँदै भोगाधिकार आएपछि रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी स्रोतका लागि संघ र प्रदेश सरकारसम्म पुग्न सकिनेमा जोड दिए ।

 

खेलमैदानको पाँच बिगाहा आठ कठ्ठा जमिनमा हालसम्म एक करोड १७ लाख १८ हजार रुपैयाँ (श्रमदान बाहेक) बराबरको पूर्वाधार निर्माणको कार्य सम्पन्न भएको छ । अघिल्लो आर्थिक वर्ष ०७६/०७७मा युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख र अर्जुनधारा नगरपालिकाबाट १५ लाख गरी जम्मा ६५ लाख रुपैयाँको काम भएको थियो ।

 

यस्तै, गत आर्थिक वर्ष ०७७/०७८मा युवा तथा खेलकुद मन्त्रालयबाट २५ लाख र अर्जुनधारा नगरपालिकाबाट १० लाख रुपैयाँ गरी जम्मा ३५ लाख रुपैयाँ र चालु आर्थिक वर्ष ०७८/०७९मा युवा तथा खेलकुद मन्त्रालयबाट आठ लाख र अर्जुनधारा नगरपालिकाबाट नौ लाख १८ हजार गरी जम्मा १७ लाख १८ हजार रुपैयाँ विनियोजन भएको थियो ।

 

उक्त बजेटबाट ४५७ मिटर कम्पाउण्ड वाल निर्माण, एउटा भवन, खेलमैदानभित्रको सडक स्थानान्तरणलगायतका कार्यहरु सम्पन्न भएको निर्माण उपभोक्ता समितिका सचिव एवम् संस्थाका महासचिव मेदनीप्रसाद ढुङ्गेलले जानकारी दिए । आगामी आर्थिक वर्ष ०७९/०८०को लागि पनि प्रदेश सरकारबाट १० लाख रुपैयाँ विनियोजन भएको सचिव ढुङ्गेलले जानकारी दिए । यसैबीच, चालु आर्थिक वर्षमा सम्पन्न भएको कम्पाउण्ड वाल निर्माणको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।

 

समितिका अध्यक्ष गुरागाईंको अध्यक्षतामा सचिव ढुङ्गेलले २० लाख २१ हजार नौ सय २० रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरेका थिए । गत वैशाख २२ गते सम्झौता भई यही असार १९ गते सम्पन्न भएको उक्त कार्यक्रम अन्र्तगत एक सय २२ मिटर कम्पाउण्ड वाल निर्माण गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।