झापा । झापाको मेचीनगर नगरपालिकाका ४ जनामा नाइरोबी फ्लाइ संक्रमणको लक्षण देखिएको छ । पूर्वी अफ्रिका र भारतमा देखिएको नाइरोबी फ्लाई संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी नेपालमा पनि देखिएका हुन् ।
मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले आफूले त्यसबारे जानकारी पाएको र नगरमा खोजपड्तालको काम भइरहेको बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले हालसम्म महाशाखामा नाइरोबीको केस रिपोर्ट नभएको बताएका छन् । तर, विश्वका २० वटाभन्दा बढी देशमा नैरोबी फ्लाइको संक्रमण फैलिएको र छिमेकी मुलुक भारतमा पनि यसको संक्रमण बढ्दै गएकाले नेपालमा पनि सो केस नहोला भन्न नसकिने उनले बताए ।
नाइरोबी फ्लाइ कालो र खैरो मिश्रित एक प्रकारको सानो कीरा हो । यो कीरा धेरै वर्षा हुने स्थानमा देखिँदै आएको छ । भारतको सिक्किममा बिहीबारसम्म १ सयजना भन्दा बढीमा नाइरोबी फ्लाइको संक्रमण देखिइसकेको भारतको स्वास्थ्य विभागको तथ्यांक छ ।