काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को आयोजनालाई लिएर विवाद पुन सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)मा आएको नेतृत्व परिवर्तनसँगै घरेलु फुटबलको महत्वकांक्षी परियोजना विवादमा परेको छ । एन्फाको अघिल्लो कार्यसमितिले चार वर्षका लागि एनएसएल आयोजनाका लागि नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीसँग सम्झौता गरेको थियो ।
तर, एन्फामा नयाँ नेतृत्व आएसँगै फ्रेन्चाइज फुटबल एनएसएलको भविष्य अनिश्चित देखिएको छ । एन्फाको नयाँ कार्यसमितिमा आएका नेतृत्व सहित अधिकांश पदाधिकारी एनएसएलप्रति अनुदार छन् । एनएसएललाई ‘गोल्डकप’को रुपमा सार्वजनिक अभिव्यक्ति दिने अधिकारी नै एन्फा चुनावमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएर आएका छन् ।
नयाँ कार्यसमितिको पहिलो औपचारिक बैठकअघि एन्फाले एनएसएलप्रति असन्तुष्ट ए डिभिजनका चार क्लबसँग बैठक गरेको छ । बैठकअनुसार कतिपय बुँदामा गम्भीर त्रुटि रहेको निष्कर्शसहित एनएसएलसँगको सम्झौता पत्र रद्ध गर्ने निर्णय गर्दै कार्यसमितिमा प्रस्ताव लैजाने सहमति गरेको छ । पछिल्लो घटनाक्रमले एन्फा र एनएसएलबीच भएको सम्झौता रद्ध हुने भएको छ ।
एनएसएललाई लिएर एन्फाको वर्तमान नेतृत्व आफैैँ अन्यौलमा देखिन्छ । एन्फा नेतृत्व ए डिभिजनका चार ठुला क्लबलाई बिच्काउन नि चाहँदैन । नेतृत्वलाई तिनै तीन क्लबको बलमा चुनाव जितेर आएको गुण सम्झिनु परेको छ । एनएसएल हुन दिँदैन भनेर आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीलाई पनि भन्न सकेको छैन । सहिद स्मारक ए डिभिजन लिग गर्न नसक्ने अवस्थामा रहेको एन्फा एनएसएललाई बिच्काएर थप दबाब खेप्न सक्ने अवस्थामा पनि छैन ।
क्लब र एन्फाको पछिल्लो सहमतिलाई लिएर आइतबार एनएसएलको आयोजक टिमले एन्फा नेतृत्वसँग छलफल गर्यो र स्पष्ट धारणा माग्यो । छलफलमा एन्फा पदाधिकारीले मिडियामा आएजस्तो विषय नभएको एनएसएलको आयोजक टिमलाई जानकारी गराएका थिए । तर, कसरी अघि बढ्ने सन्दर्भमा स्पष्ट कुरा पनि गर्न सकेनन् । एन्फाले कार्यसमितिको बैठक राखेर खबर गर्ने जवाफ एनएसएलका पदाधिकारीलाई गरेका छन् ।
एन्फाले आसन्न साउन २ गतेको कार्यसमिति बैठकमा एनएसएललाई एजेण्डाको रुपमा समावेश गरेको छ । सम्झौता रद्धको विषय कार्यसमितिबाट पास गराउने एन्फाको तयारी छ । तर, नयाँ सम्झौता कसरी अघि बढाउने वा एनएसएल गर्ने(नगर्ने विषयमा एन्फा नेतृत्व आफैँ अन्यौलमा छ ।
छलफलमा एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले आफुहरु एनएसएलको विषयमा सकारात्मक रहेको बताएका थिए । ‘एनएसएल गर्ने पक्षमानै हो । तर यसलाई व्यवस्थित गरौं, मिलाएर गरौं । भोलिका दिनमा समस्या नहोस् भन्ने एन्फाको चाहना छ ।’ नेम्वाङको भनाइ उद्धृत गर्दै बैठकले स्रोतले भन्यो ।
बैठकमा एनएसएल आयोजक टिमले सम्झौता रद्ध गरेर नयाँ सम्झौताअनुसार आफू अघि बढ्न तयार रहेको बताएका थिए । ‘एन्फाको वार्षिक क्यालेन्डर बनाएर जाँदा समस्या हुँदैन । ए डिभिजनले कम्तिमा ६ महिना खेलाडीलाई राख्छ । एनएसएलले दुई, तीन महिना खेलाडीलाई अनुबन्ध गर्छ । यसले ए डिभिजन क्लबको आर्थिक भार पनि कम गर्छ ।’ एनएसएलका एक पदाधिकारीले भने । एनएसएल आयोजक टिमका सदस्यले प्रतियोगितामा आबद्ध १० वटा क्लबको भविष्यलाई हेरेर निर्णय लिन एन्फा नेतृत्वलाई सुझाएका थिए ।
दोस्रो संस्करणको एनएसएल भदौ २५ देखि कात्तिक ५ गतेसम्म आयोजना गर्ने तयारी गरिएको थियो । तर, एन्फाभित्रको कुरुप राजनीतिको नजर एनएसएलमाथि लागेपछि प्रतियोगिताको भविष्य जोखिममा परेको छ । खेलपाटीबाट