समाज

मेची आँखा अस्पतालको रजत वर्षमा पूर्वकर्मचारीदेखि संस्थापकलाई सम्मान

By admin

July 15, 2022

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको पूर्वकै ठूलो आँखा अस्पताल मेची आँखा अस्पताल स्थापनाको २५औं वर्ष पूरा भएकोे अवसरमा कर्मचारीदेखि संस्थापक सदस्यलाई सम्मान गरिएको छ ।

 

अस्पताल संचालक समितिले अस्पताल परिसरमा आयोजना गरेको रजत वर्ष समापन कार्यक्रममा संस्थापक संचालक समितिका चार जना र दाता संस्थाका एक जनालाई विशेष सम्मान गरेको छ । कार्यक्रममा स्थापना कालमा समितिमा रहेर काम गरेकाहरुमध्ये उपस्थित चार जनालाई सम्मान गरेको हो ।

 

सम्मानित हुनेहरुमा भरतलाल गिरी, दिनेश मित्तल, चण्डीराज पराजुली, भिमबहादुर गुरुङ छन् । उनीहरुलाई कार्यक्रमका विशेष अतिथि वेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले सम्मान गरेका थिए । त्यस्तै अस्पतालको सहयोगी संस्थाका अनिल गोर्खालीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा सेवा निवृत, वर्तमान कार्यरत उत्कृष्ट दर्जनौ कर्मचारी र सहयोगी सामाजिक संस्थाहरुलाई पनि सम्मान गरिएको थियो ।

 

विगत २५ बर्षअघि सामान्यरुपमा लायन्स क्लवसंगको सहकार्यमा बिर्तामोडस्थित कृषिथोक बजारमा आँखा शिविर कार्यक्रम आयोजना गरेपछि मेची आई केयरहुँदै हाल सुविधा सम्पन्न मेची आँखा अस्पताल बनेको हो ।

 

मेची आँखा अस्पतालले हालसम्ममा २९ लाख १४ हजार ४३० वटा अप्रेशन गरेको छ । जसमा ३ लाख ३४ हजार ७०८ वटा सर्जिकल अप्रेशन सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ । अस्पतालले विभिन्न स्थानमा प्राथमिक उपचार केन्द्र पनि संचालन गर्दै आएको छ । झापाको राजगढ, वनियानी, दमक, गौरादह, भद्रपुर र सुरुंगामा प्राथमिक उपचार केन्द्र रहेको छ ।

 

त्यस्तै पाँचथर अस्पताल र वेलका नगरपालिकामा पनि प्राथमिक उपचार केन्द्र रहेको छ । अस्पतालको तर्फबाट हालसम्म १ हजार १६५ पटक आँखा शिविर संचालन, शिविरबाट २ लाख २५ हजार भन्दा धेरै शल्यक्रिया गरिएको छ । शिविरबाट २६ लाख जनाले सेवा लिएको र ८ हजार जनालाई निशुल्क चस्मा वितरण गरिएको अस्पतालका मेडिकल डाईरेक्टर पुरुषोतम जोशीले औचित्यमाथि प्रकास पार्दै बताए ।

 

मेची अस्पतालका संचालक समिति अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष सुरेश वंशलले स्वागत गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा विर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईंको उपस्थिति नभएपछि कार्यक्रमको उद्घाटन वेलकाका नगर प्रमुख अशोक कार्कीले गरेका थिए ।