समाज

दुर्गा प्रसाईंको पहलमा दुबईबाट युवतीको शव नेपाल ल्याइयो

By admin

July 19, 2022

झापा । गल्फमा भएका नेपालीका शव निजी खर्चमा ल्याएर परिवारलाई जिम्मा लगाउने घोषणा गरेका व्यवसायी दुर्गा प्रसाईंको पहलमा आज एक युवतीको शव नेपाल ल्याइएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ की २५ वर्षीय सुकमाया रानाको शव आज दुबईबाट नेपाल ल्याइएको हो ।

 

पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडका कार्यकारी निर्देशक एवं नेकपा एमालेका केन्द्रीय सदस्य प्रसाईंको खर्चमा उक्त शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको छ । रानाका आफन्त चेतन गुरुङले शव बुझेर आफूहरुले खर्च र कानूनी कारणले दुई महिनादेखि नेपाल ल्याउन नसकेको बताए ।

 

‘१० दिनअघि एउटा पत्रिकामा दुर्गा प्रसाईंले दुबईमा मृत्यु भएका मान्छेका शव नेपाल ल्याइदिने भन्ने समाचार देखेर हामीले फोन ग¥यौं’, गुरुङले आज पत्रकारहरुसँग भने, ‘उहाँले म ल्याइदिन्छु भनेपछि भेटघाट गरें । सबै खर्च व्यहोरेर उहाँले शव ल्याइदिनुभयो । सरकारले गर्ने काम एकजना व्यक्तिले गर्नुभयो । यसका लागि उहाँलाई धन्यवाद भन्छु ।’

 

प्रसाईंले अर्को हप्ता चारवटा शव ल्याएर आफन्तलाई बुझाउने बताएका छन् । ‘सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर युवाहरुको वैदेशिक गमन रोक्न त सकेन नै पराई देशमा गए अकालमा ज्यान गुमाएका युवाको लास परिवारलाई दिन पनि सकेन’, प्रसाईंले भने, ‘मानवीय हिसाबले मैले ति परिवारको पीडामा मल्हम लगाउन खोजेको हुँ ।’

 

दुई साताअघि दुबईका राजकुमारको निमन्त्रणामा त्यहाँ गएका प्रसाईले आफन्तले लैजान नसकेका नेपालीका शव आफूले लगिदिने प्रतिवद्धता जनाएका थिए । उनले हालसम्म परिवारले सम्पर्क गरेका आधारमा १६ जना नेपालीको शव नेपाल ल्याएर आफन्तलाई बुझाउने तयारी गरिरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जनाए ।