अर्थ बजार

प्रदेश १ : एक वर्षमा २ लाख ६९ हजारले गरे ट्राफिक नियम उल्लंघन

By admin

July 21, 2022

मोरङ । प्रदेश १ मा गत आर्थिक वर्ष २०७८/०७९ को १ वर्षको अवधिमा २ लाख ६९ हजार ८२३ वटा सवारी साधनले ट्राफिक नियम उल्लंघन गरेको पाइएको छ । प्रदेश १ प्रहरी कार्यालयले दिएको जानकारीअनुसार यसरी ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट १८ करोड १ लाख ५९ हजार राजश्व जरिवाना गराइएको छ ।

 

यस्तै, प्रहरीले ४ हजार ८२१ रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५१५ बोट गाँजा नष्ट गरिएको जनाएको छ । कतिपयले गाँजा खेतीलाई मान्यता दिनुपर्ने बहस चलाइरहेको बेला प्रहरीले भने गाँजाखेती नष्ट गर्दै आएको छ ।

 

यस्तै प्रहरीले गाँजा २ हजार २१ किलो ९०२ ग्राम, चरेस २३ ग्राम ९१७ मिलिग्राम, ब्राउनसुगर २ किलोग्राम ४५ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सुल ३१ हजार ९७०, मनोद्धिपक एम्पुल १० हजार २६५ र मनोद्धिपक औषधिहरु ७६९ क्याप्सुल बरामद गरेको छ ।

 

यस्तै प्रहरीले प्रदेशभरमा आर्थिक २०७८र/०७९ मा ८ हजार ५५ वटा मुद्दा दर्ता भएको जनाएको छ । उक्त मुद्दा तथा जरिमानाबाट ३९ करोड २१ लाखभन्दा बढी राजश्व संकलन गरेको छ । प्रहरीले दर्ता भएका मुद्दाहरूमध्ये ३ हजार १७७ वटा मुद्दा फर्छ्यौट पनि गरिसकेको छ । यस्तै फरार रहेका १ हजार ७३८ जना प्रतिवादीहरुलाई पक्राउ गरी ८ करोड ७ लाख ४७ हजार ६७५ रुपैयाँ राजश्व संकलन गरेको छ ।

 

यसैगरी अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना मानिसलाई पक्राउ गर्नुका साथै ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजश्व संकलन गरेको छ भने नदिजन्य पदार्थको अवैधरुपमा दोहन गर्ने ३७ जना र ६४५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३३ लाख ३१ हजार ५ सय राजश्व संकलन गरेको पनि प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

यसैगरी अवैध काठ चोरी निकासीमा संलग्न ४७ जना पक्राउ गर्नुका साथै ४ हजार ६४८ क्यूफिट काठ बरामद गरी १ करोड ४ लाख ३३ हजार ५३७ रुपैया राजश्व संकलन भएको छ । प्रहरीले उत्कृष्ट कार्य गर्ने १ हजार ८६४ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत पनि गरेको जनाएको छ ।