विचार

‘पन्था भात’ खाएर पढियो इलाम क्याम्पस

By admin

July 23, 2022

लिलक सिटौला, अब चाहिँ इलाम क्याम्पस पढ्न मन लाग्यो । २०३६/३७ सालतिर हो, पहिलोचोटी कलेजको अनुभव भएको मैल महसुस गरेँ । हामीलाई पढाउने गुरुआमा र गुरुबासँग हाम्रो केही नाता थिएन । मन खिन्न भयो । क्याम्पसमा पढाउने गुरुहरुले हामीलाई पढाएर जान्थे, पढाइ के हो ? बुझिएको हुँदैनथ्यो । शनिश्चरे हाइस्कुलमा पढ्दा मोहन सिवाकोटी सर, जोशी सर, झा सरहरु गाली गर्नुहुन्थ्यो । त्यो दिनहरु साँच्चै मज्जाका थिए । तर, यता इलाम कलेजका गुरुबाहरुसँग हाम्रो नाता नै नभएको जस्तो, सरहरु आधा, एक घण्टा लगाएर पढाइको विषयलाई धारावाहिक हिसाबले पढाउनु हुन्थ्यो । हामी सबै सुनिरहन्थ्यौँ, सवाल जवाफ केही हुँदैनथ्यो ।

 

बडो मस्ती लाइनको अध्ययन थियो । मलाई भने स्कुलको जस्तो पढाइको वातावरण कलेजमा थिएन र ठिक पनि लागेन । जम्मा ३ विषय पढाइ हुन्थ्यो, त्यसपछि छुट्टी । हामी इलाममा पढ्दा बिहीबार ठुलो हाट अर्थात् बजार लाग्दथ्यो । शायद अहिले पनि त्यै होला । हाम्रो शनिश्चरेमा शनिबार लागेजस्तै । जेहोस्, पढाइभन्दा पनि इलामको हावापानी र क्याम्पसको रौनकता नै राम्रो लाग्यो । क्याम्पसको पढाइमा हाम्रो स्कुलको गुरुवा, गुरुआमाले चासो लिएको देखिएन । हाम्रोमात्र होइन, देशभरिकै माविमा पहिलो घण्टीमा अर्थात् पहिलो कक्षामा सरहरुसँग हाजिरी बजाउनु पर्दैनथ्यो, त्यसमा नाम बोलाएर हाजिरी दिनु पर्दथ्यो । प्रत्येक विद्यार्थीहरुको नाम आउँथ्यो, आउनेले ‘यस सर’ भन्नुपथ्र्यो । ‘यस सर’ नभन्नेहरुको हाजिरी हुँदैनथ्यो ।

 

तर, इलामको महेन्द्र बहुमुखी क्याम्पसमा ‘यस सर’ हुँदैन रहेछ । म छक्क परेँ, मनमा लाग्यो म पढ्न गएको हो कि होइन ? कुनै चासो नै पनि छैन, चेक पनि छैन । त्यो बेला विद्यार्थीहरुले क्याम्पस गए पनि हुन्थ्यो, नगए पनि हुँदोरहेछ, मलाई एउटा अनुभव भयो । कक्षा १ देखि १० सम्म पढ्नका लागि धेरै अभिभावकहरुको गार्जनसीप हुँदोरहेछ । कलेज पुगेपछि मान्छे कि त विद्वान हुन्छन् कि त छाडा हुँदो रहेछन् । तर, मैले क्लास छाडिनँ । मलाई के लाग्यो भने फलामको सिँढी पार गरेर आएका विद्यार्थी (एसएलसी पास गरेकाको हकमा) हप्काउनु हुँदैन, मानौँ, केही भन्नु हुँदैन । क्याम्पसका शिक्षकहरुले विद्यार्थीहरुलाई तपाइँ भनेर सम्बोधन गर्दा म झन् छक्क परेको थिएँ । मानौँ, संसार जितेर आएजस्तो, वास्तावमा जीवनमा हारेको मान्छेले जितेको हुन्छ । हारपछिको जीत अति नै स्वादिलो हुन्छ ।

 

कलेज छुट्टी भएपछि म गोलाखर्क भन्ने बस्तीमा आदरणीय उमाराम प्रसाईंको घरमा बास थियो । म आफैँ खाना पकाएर खान्थे । शनिश्चरे छाडेको इलाममा पढ्न आउँदा अरु सबै ठिक लाग्यो । बजारमा बसेर आमाले पकाएको खाना खाने बानी भइसकेको रहेछ । शनिश्चरे बजारको मुटुमा सानो झुपडीमा जन्मिएर बजारभित्रको वातावरणमा खेलेको केटोलाई खाली मिठो मसिनो के हुन्थ्यो, त्यही खाएर बसेकोलाई खाना पकाउने अभ्यास भयो । यो मेरो जीवनको एउटा ठुलो सफलता थियो । यस विषयमा मैले खानाका परिकारहरुसँग सम्झौता बिस्तारै बिस्तारै भइसकेको रहेछ । खाना पकाउन मलाई मज्जा लाग्न थालिसकेको थियो ।

 

कलेज बिहानको थियो । बेलुका नै अलि बढी चामल हालेर पकाइन्थ्यो, बिहान कोइलाले दाँत माझेर बेलुकाको उब्रिएको खाना भुटेर खाने अनि माथि उकालो लाग्ने क्याम्पसतिर । फेरि त्यही क्रमहरुसँग खेल्दै जाँदा कहिलेकाहीँ त पन्थी खाना पनि खाएर बिहानै क्याम्पस पुगिन्थ्यो । उब्रिएको खानालाई पानी र नून हालेर सिल्भरे थालमा राखेर छाडिदिने, बिहान खाँदा साँच्चैको स्वाद आउँथ्यो । यो प्रविधि शनिश्चरे बजारमा भारतको उडिसा राज्यबाट कामको सिलसिलामा आएका उडियाहरुले खान्थे । उनीहरुसँग बसेर पन्था खाएको थिएँ । त्यहाँबाट सिकेको सीप इलाममा पनि काम लाग्यो । जय होस्, पन्था भातको ।

 

क्रमिकरुपमा दिनचर्या र पढाइ यसरी नै चलेको थियो । बिहान उठेर महेन्द्र बहुमुखी क्याम्पसतर्फ आफ्ना पाइला चलेको हुन्थ्यो, झापापछिको इलाम आउने उद्देश्य चाहिँ पढाइ मात्र थियो । मुख्य उद्देश्य पढाइ नै हो, अरु केही थिएन । म इलाम अध्ययनको सिलसिलामा गएको बेला ०३७/३७ सालतिर इलाममा पञ्चायती व्यवस्थाको विरोधी र पञ्चायतीहरुको भित्रभित्रै घमासान चल्ने गथ्र्यो । पञ्चायत समर्थक र पञ्चायत विरोधीहरुबीच मान्छे तान्ने काम भएको थियो । म यी सबै विषयबाट अलगत हुन चाहन्थे । झापामा जे गरेँ पनि इलाममा मेरो दिमागमा खाली पढ्ने काम थियो । बस्, दायाँबायाँ भन्ने थिएन ।

 

क्याम्पस छुट्टी भएको बेला इलाम बजार एक फन्को लगाएर टुँडिखेलहुँदै आफ्नो डेरा गोलाखर्क पुग्दा आनन्द लाग्थ्यो । आफ्नो घर आएजस्तो । झापाका साथीहरुबाहेक अरु जिल्लाका साथीहरुसँग गहिरो सम्बन्ध थिएन । किन भने म नयाँ पनि भएको कारणले होला । म केही महिनासम्म गोलाखर्कमा एक्लै बसेको थिएँ ।

 

शनिबार छुट्टीको दिन मैला भएका लुगाफाटा सफा गर्ने दिन, र भरसक आफैँ पनि सफा हुने दिन । अर्थात्, विद्याथीहरुले छुट्टीमा के गर्नुपर्ने साथै आफ्नो आवश्यकताहरु पूरा गर्ने दिन जस्तो लाग्यो । म बसेको घरबाट उत्तरपश्चिममा एउटा ढुंगे धारा थियो । पानी कम आउँथ्यो, धेरै बेरपछि बाल्टी भरिन्थ्यो । अनि सब काम फत्ते हुन्थ्यो ।

 

त्यसै पनि पहाडका धारामा पानीहरु राम्रा आउँथे सबै काम सकेर म डेरामा आएँ । म आएको १०-१५ मिनेटमा मलाई खोज्दै एक जना दाइ (मैले नामचाहिँ सुनेको थिएँ) भेट्न आउनुभयो । आदरणीय दाइ धर्म गौतम, मलाई थाहा थियो । वहाँ २०३३ सालको वीपीको राष्ट्रिय मेलमिलाप सन्दर्भमा झापाका रामबाबु प्रसाई र इलामका धर्म गौतम नेपाल प्रवेश गर्दा वहाँहरुलाई पञ्चायती प्रहरीद्वारा पक्राउ गरिएको थियो । – शनिश्चरे, झापा