समाज

ताप्लेजुङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

By admin

July 23, 2022

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । फुङ्लिङ नगरपालिका ९ हाङ्देवा गाइगुडेका ५६ वर्षीय बलबहादुर साँबाले आफ्नी श्रीमती ५४ वर्षीया कान्छीमाया लिम्बूको हत्या गरेका हुन् ।

 

प्रहरीका अनुसार शुक्रबार (हिजो) साँझ करिव ५ बजेतिर साँबाले कुटपिट गरी श्रीमतीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार घरायसी विवाद हुँदा साँबाले श्रीमतीमाथि अन्धाधुन्द कुटपिट गरेका थिए । कुटपिटकै क्रममा कान्छीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

 

प्रहरी निरीक्षक कार्कीकै नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घटनाको मुचुल्का सङ्कलन गरी शव उठाएर सदरमुकाम फुङ्लिङ ल्याइएको छ । शुक्रबार राति करिव ८ः३० बजे शव सदरमुकाम ल्याई पुराएर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

 

यता घटनामा संलग्न साँबालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शवको पोष्टमार्टमलगायत घटनाको थप अनुसन्धान शनिबारदेखि सुरु हुने पनि प्रहरीले जानकारी दिएको छ ।