अर्थ बजार

सरकारी सहयोग नपाएको तेह्रथुमका व्यवसायीको गुनासो

By admin

July 24, 2022

तेह्रथुम । तेह्रथुम जिल्लाका उद्योगी व्यवसायीहरु सरकारी सहयोग र बजार पाउन नसकेको गुनासो गरेका छन् । स्थानीय पूँजी, श्रम र सीप प्रयोग गरेर स्थापना गरिएका साना र मझौला उद्योगले सरकारी सहयोग पाउन नसकेको गुनासो उनीहरुले गरेका हुन् ।

 

कच्चा पदार्थको पनि अभाव खेपिरहेका जिल्लाका करिब १८ सय उद्योगलाई बजारको पनि अभाव रहँदै आएको छ । अन्य सामग्रीको तुलनामा धातु, ढाका, फलफूल, दुग्द्यजन्य पदार्थ, बिस्कुट, हस्तकला, मह र फलामका औजारको माग भने बढ्दो छ ।

 

स्थानीय स्तरमा पर्याप्त कच्चा पदार्थ नपाईने भएकाले यस्ता उद्योगले वर्षभरी नै कच्चा पदार्थको अभाव खेपिरहेका छन् । त्यहीकारण उद्योगले आफ्नो उत्पादन समेत बढाउन सकेका छैनन् । उत्पादन भएको सामग्रीहरु बिक्री गर्ने उपयुक्त बजार नहुँदा यहँका व्यवसायीलाई समस्या हुँदै आएको छ ।

 

सरकारले सीप दिए पनि उचित बजारको पनि व्यवस्थापन गरिदिए व्यवसाय सञ्चालन गर्न सहज हुने आशा रहेको बसन्तपुरकी हिमकला भुजेलले बताइन् । साहुबाट ऋण लिएर उद्योग सञ्चालन गर्दै आएका युवाहरु सरकारले उत्पादनमा समेत सहयोग नगरेको युवा व्यवसायी श्याम पौडेलको गुनासो पोखे ।

 

घरमै बसेर सञ्चालन गर्न सकिने यस्ता उद्योगलाई बेला बेलामा सीपमूलक तालिम भने दिने गरिएको छ । उत्पादित वस्तुको बजार प्रवर्द्धन, कच्चा पदार्थको सहज आपूर्ति, तालिम र उपयुक्त प्रविधीमा स्थानीय तहको सहयोग भए यस्ता उद्योगको व्यवसायिक विकास गर्न सजिलो हुनेछ । इमेज खबरबाट