समाज

सामुहिक आत्महत्याः ‘छोरी फर्किने आशमा थियो परिवार’

By admin

July 24, 2022

झापा । झापाको कचनकवल गाउँपालिका ५ की १६ वर्षीया करिना, कल्पना र १७ वर्षीया अञ्जली गणेश साथीसाथी हुन् । घर नजिकैको चियाबगानमा काम गर्ने उनीहरु प्रायः सँगै हुन्थे । शनिबार दिउँसो १२ बजेतिर पनि उनीहरु सँगै निस्किए । घरबाट निस्किएपछि बेपत्ता भएका तीन जनाको शव आइतबार बिहान घर नजिकैको एउटै रुखमा झुन्डिएको अवस्थामा भेटियो ।

 

घटनास्थलमा आफन्तसँग कुरा गरेर फर्किएका कचनकवल गाउँपालिका ५ का वडा अध्यक्ष मो. नुर आलमका अनुसार तीनवटै परिवार छोरी फर्किएर आउने आशमा बसेको थियो । घर आउने आशमा फर्किएका आफन्तले आइतबार बिहान मृत्युको खबर पाए ।

 

‘दिउँसो १२ बजेसँगै हिँडेका कारण आफन्तको घरमा बसे होलान् भनेर परिवारले धेरै खोजी गरेनन्, आफन्तको घर पनि नजिकै रहेछ’, उनले भने, ‘आज बिहान चिया टिप्न जानेले रुखमा झुन्डिएको देखेछन् ।’

 

उनका अनुसार घटनाको बारेमा स्थानीयबासी र परिवारले बिहान सात बजे जानकारी पाएका थिए । घटनाका कारण गाउँ नै शोकमा डुबेको उनले बताए । छोरी घर फर्कने आशमा बसेको तीनवटै परिवारमा अचानक मृत्यु भएको खबर पुगेको थियो । ‘घटनाले मृतकको परिवार र गाउँ शोकमा डुबेको छ’, उनले भने ।

 

गाउँबाट पूर्वतर्फ रहेको झिङ खोलाको डिलमा रहेको बयरको रुखमा किशोरीहरु झुण्डिएको अवस्थामा मृत भेटिएको उनले बताए । ‘म घटनास्थलमा १० बजेतिर पुगेको थिएँ’, उनले भने, ‘घटनास्थल आसपास भेला भएका गाउँलेहरु शोकमा थिए ।’

 

तीन किशोरी साथीसाथी रहेको उनको भनाइ छ । ‘उनीहरु सँगै काम गर्ने साथी हुन्’, उनले भने, ‘एक्कासी झुण्डिएको अवस्थामा भेटिएका छन्, मृत्युको कारण खुलेको छैन ।’

 

उनका अनुसार १६ वर्षीया करिना गणेशको घर घटनास्थलबाट करिब चार सय मिटर पर पर्छ । कल्पना गणेशको घर घटनास्थलबाट करिब २ सय मिटर टाढा छ । अञ्जली गणेशको घर भने घटनास्थलबाट करिब दुई किलोमिटर टाढा पर्छ । अनलाइन खबरबाट