विचार

इलाम क्याम्पसमा पञ्चायतविरुद्ध गतिविधि

By admin

July 30, 2022

– लिलक सिटौला, म जतिखेर इलामको गोलाखर्क भञ्ज्याङमा बस्थे, त्यही मलाई खोज्दै आदरणीय दाइ धर्म गौतम आउनुभएको थियो । मैले आदर गरेँ । मेरो डेरामा केही थिएन । विद्यार्थीको डेरामा त्यो बेला के हुन्थ्यो र ! माथिबाट उमाराम सरले दुईकप दूध हालेको चिया पठाइदिनु भयो । चियाको स्वादसँग हाम्रो भलाकुसारी भयो । पञ्चायतको विरोधमा काम गर्नु, ताल परे विगुल फुक्ने सहमति भयो । किन भने म स्कुले जीवनदेखि नै पञ्चायतको विरोधी थिएँ ।

 

वहाँ यस्तो योद्धा हुनुहुन्थ्यो, आफ्नो ज्यानको पर्वाह नगरी वीपी कोइरालाको मेलमिलाप नीतिअनुसार नेपाल प्रवेश गरेका थिए । वहाँ जनताका छोरा थिए । वहाँको कुरा मैले काट्न सकिनँ । मैले पनि वहाँको कुरा काट्नुपर्ने कारण केही देखिनँ । वहाँ पछि क्याम्पसमा मेरो पहिलो भेट लोकबन्धु कन्दङ्वासँग भयो । वहाँ हेर्दा खाइलाग्दो, बलियो मान्छे, त्यसो त अहिले पनि के कम हुनुहुन्छ । वहाँ आफूलाई कम्युनिष्ट भनेर रुचाउनु हुन्थ्यो । त्यो बेलाका कम्युनिष्टहरु कुन हुन् ? थाहा हुँदैन्थ्यो । हाम्रो पहिचान नेविसंघबाट हुन्थ्यो । पछि गएर कांग्रेस हुने बाटो थियो ।

 

जेहोस्, त्यो बेलाको जल्दोबल्दो नेता हुनुहुन्थ्यो, लोकबन्धुजी । हामी दुवैबीच पनि भलाकुसारी भयो । आआफ्नो तरिकाबाट काम गर्ने, बाटो खुल्यो । हामी काममा लागिसकेका थियौँ । इलामको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ जन्माउने काम गाह्रो थियो । तर पनि म संगठनका लागि भिडेको थिएँ । कहिलेकाहीँ क्लास खाली हुन्थ्यो । खाली समयको सदुपयोग गर्न मन लाग्यो । हाम्रो कक्षा राम्रो थियो । दक्षिणतर्फ फर्किएको एकतले भवन थियो । म त्यहाँ साथीहरुमाझमा उभिएर भन्न थाले… साथीहरु, मेरो नाम लिलक सिटौला । घर शनिश्चरे वार्ड नम्बर १ । शनिश्चरे माविको नेविसंघ अध्यक्ष । मेरो परिचयपछि एउटा माहोल बन्यो । त्यसपछि धेरै साथीहरुले आआफ्नो परिचय दिए । दिपेन्द्र सेन्दाङ, रमेश डिसी, प्रदिप तामाङ, मोहन सिवाकोटीलगायत अरु संगठनका साथीहरुले पनि आफ्नो परिचय दिए । रमाइलो लाग्यो ।

 

इलाम जिल्लाको राजनीति मैले केही बुझेको थिइनँ । दिनरात छिपिँदै गए, करिब २ महिनापछि धेरै साथीहरुसँग परिचय भयो । इलाममा अध्ययनको क्रममा मैले आफूलाई धेरै स्वाद पाएको महसुस गरेँ । किन भने इलाम जिल्लाका साथीभाइ हामी शनिश्चरेका भन्दा सोझा थिए । अर्थात्, दुःखसुख जे भए पनि इलामका साथीहरुको धेरै माया मैले पाइसकेको थिएँ । हामी जुनबेला इलाम पढेको थियौँ त्यस बेलामा इलाममा खेलकुद, राजनीतिमात्र होइन कला, साहित्य, संस्कृतिमा व्यापकरुपमा ठुलो क्षे ओगटेको थियो । इलाममा बाजेले पकाएको मालपुवाको स्वाद पनि त्यतिकै मिठो थियो । जय होस् इलाम जिल्लाको । राजनीति त इलाम जिल्लाको खानी नै थियो । इलाम क्याम्पसदेखि इलाम बजारसम्म मेरा साथीहरु फैलिएका थिए । तर पनि त्यसमध्ये झापाका साथीहरु मसँग मिलन थालेका थिए । जस्तै, प्रदिप, मोहन, चुडामणी थपलिया, श्रीप्रसाद भेटवाल, राम राई यी सबै झापाबासी थिए ।

 

भोलिपल्ट मेरो परिचय थाहा पाएपछि दाइ टंक बस्नेत, जो मभन्दा अलिक माथिल्लो क्लासमा अध्ययन गर्नुहुन्थ्यो । वहाँले मलाई इलामको पुरानो लोक सेवा अफिसमा भेट गर्न बोलाउनुभयो । मैले फुर्सद निकाले त्यहाँ पुगेँ । वहाँले मलाई इलामको बारेमा धेरै कुराहरु बुझाउनुभो, सम्झाउनु पनि भो । टंक बस्नेत दाइको कुरो र वहाँको व्यवहारबाट म प्रभावित भएको थिएँ । त्यसबेलाका इलामको कांग्रेसी नेता नै वहाँ हो जस्तो लाग्यो । अर्थात्, धर्म दाइपछि टंक दाइको भेटघाटबाट मलाई तरंगित बनाएको थियो । लोक सेवा आयोगको धेरै टंक दाइको रहेछ । अर्थात्, बस्नेत परिवारकै रहेछ । मभन्दा वहाँ जेठो मान्छे, बिहे भने भएको थिएन । किन भने कतिपय विद्यार्थीहरु बिहे गरेर पनि क्याम्पस पढ्थे ।

 

इलाम बजारभित्रको चियाबारीको सुन्दरताको बारेमा लेखेर सकिँदैन । मसँग मिल्ने साथी इलामकै ठिटो रमेश डिसी र सुरेश सापकोटा (जर्सिङ गाउँको)सँग त तँ तँ र म म को सम्बन्ध भएको थियो । अर्थात्, तिमी, तपाइँ होइन, तँ मात्र थियो । हामी खुबै मिल्न थालेका थियौँ । हाम्रो सिद्धान्त साथै मन मिलेको हुँदा म नेविसंघको विद्यार्थी राजनीतिमा कस्सिएर लागेँ, मलाई साथ दिने साथीहरुको पनि कमी थिएन । दिन प्रतिदिन बढोत्तरी मात्र थियो । धर्म गौतम, टंक बस्नेत, केबी गुरुङ, टिएन भट्टराई, शेखर घिमिरे दाइहरुसँग भेट हुन थाल्यो । त्यसपछि पूर्णलाल श्रेष्ठ आदि व्यक्तित्वहरुसँग मेरो राम्रो परिचय भइसकेको थियो । जे होला सहूँला, म परिपक्व भएको महसुस गर्न थालेँ ।

 

त्यो भूमिका निभाइदिने दाइ निवज गुरुङ हुनहुन्थ्यो । त्यसबेलाका महत्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो, निवज दाइ । इलाममा मैले वहाँहरुको हौसलाले काम गर्ने मौका पाएँ । हुन त म शनिश्चरेमा रहँदादेखि नै पञ्चायती व्यवस्थाको विरोधी भएर काम गरेको अनुभवले पनि मलाई साथ दिएको थियो । जेहोस्, प्रतिबन्धित कांग्रेसहरुसँग बढी हेलमेल भए पनि म चाहीँ विद्यार्थी संगठनभित्र रहेर काम गर्न सिकेको थिएँ । – शनिश्चरे, झापा