झापा । झापामा ट्राफिक नियम उल्लङ्घन गर्ने साना ठूला ४७ हजारभन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले गत आर्थिक बर्ष २०७८/०७९ को एक वर्षको अवधिमा जिल्लामा ४७ हजार ९ सय सवारीसाधन र धनीलाई कारवाही कारवाही गरेको हो ।
सो सवारी कारवाहीमा प्रहरीले ३ करोड ३८ लाख २९ हजार राजश्व संकलन गरेको छ । झापामा सबैभन्दा धेरै कारवाहीमा पर्ने सवारी साधनमा मोटरसाइकल रहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा १६ हजार ९१४ वटा मोटरसाइकल कारवाहीमा परेका छन् । प्रहरीले सो कारवाहीबाट मात्रै १ करोड २५ लाख ६३ हजार रुपैंया राजश्व संकलन गरेको छ ।
त्यसपछि टिपर र ट्रक बढी कारवाहीमा परेका छन् । सो अवधिमा १३ हजार ५ सय ८६ वटा ट्रक र टिपर कारवाहीमा परेका छन् । जसबाट प्रहरीले ९६ लाख ६१ ह्जार ५ सय रुपैंया राजश्व संकलन गरेको छ । ‘सकेसम्म चालकलाई सचेत बनाउँदै ट्राफिक नियम पालना गर्न आग्रह गर्दै आएका छौं तर नियमको ठाडो उल्लंघन गर्ने जुनसुकै सवारीलाई कारवाही गर्ने गरेका छौं’, ट्राफिक प्रहरी प्रमुख अशोककुमार जवेगुले भने ।
कार जिप ६ हजार ४५६ कारवाहीमा पर्दा ४३ लाख ९२ हजार राजश्व संकलन गरेको छ । त्यस्तै प्रहरीले ट्याक्टर ३ हजार ९४२ कारवाहीमा पर्दा २५ लाख ६८ हजार ५ सय राजश्व संकलन गरेको छ । २ हजार १ ४४ बस कारवाहीमा पर्दा १३ लाख २५ हजार राजश्व संकलन गरेको छ । टेम्पो र अन्य ४ हजार ८५८ कारवाहीमा पर्दा ३३ लाख ९१ ह्जार राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
सांघुरो सडक बढ्दो थपिएका सवारीसाधन दैनिक जसो दुर्घटना हुनुले चुनौति थपिएको ट्राफिक प्रहरी प्रमुख जवेगु बताउँछन् । पहिले बनाइएका सडकमा सवारीसाधनको चाप बढ्दै गएको तथा कतिपय सवारी चालकले लापरवाही पूर्वक सवारी चलाउँदा कारवाही संख्या बढ्दै जाने मात्रै नभई दुर्घटना पनि हुने गरेको बताइएको छ ।
सवारीसाधन दुर्घटना हुनुमा सबैभन्दा धेरै चालककै कारण रहेको तथ्यांकले देखाएको छ । लेन अनुशासनको पालना, सीमित गति, नियमित यान्त्रिक जाँच गरेमा दुर्घटना धेरै मात्रामा कम गर्न सघाउ पुग्ने ट्राफिक प्रहरीको भनाइ छ ।