अर्थ बजार

बिर्तामोडमा बिजुलीको बिल नतिर्ने उद्योगको लाइन काटियो

By admin

August 01, 2022

बिर्तामोड । नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले महसुल नबुझाउने उद्योगको लाइन काटेको छ । होटल र उधोगहरुको लाइन महसुल नबुझाएकै कारण काटिएको अनारमनी वितरण केन्द्रले जनाएको छ ।

 

साउन लागेपछि बिर्तामोडस्थित होटल डाउनटाउनको लाइन काटिएको अनारमनी वितरण केन्द्रका सूचना अधिकारी दिपक ढकालले जानकारी दिए । उनका अनुसार होटलले ६ लाख ८१ हजार ११५ रुपैयाँ ३९ पैसा बुझाउन बाँकी रहेको छ । कार्यालयको तर्फबाट पटक–पटक ताकेता हुँदा पनि महसुल नबुझाएपछि लाइन काटिएको हो, ढकालले भने ।

 

यस्तै, अनारमनी वितरण केन्द्रले बिर्तामोडको रारा चिया उद्योग, गिताञ्जली भेनियर उधोगको लाइन पनि काटिएको जनाएको छ । रारा चियाले १७ लाख ८ हजार २४६ रुपैयाँ ८७ पैसा र गिताञ्जली भेनियरले १० लाख ३५ हजार २५८ रुपैयाँ ३० पैसा महसुल बुझाउन बाँकी रहेको छ । ताकेता गर्दा केही रकमसमेत नआएका कारण प्रक्रिया बमोजिम लाइन काटिएको हो, उनले भने ।

 

यस्तै, एनएम बोटलिङ उद्योग लाइन काटिनबाट बचेको छ । केही रकम बुझाएर क्रमशः महसुल बुझाउने प्रतिवद्धता जनाएपछि प्राविधिकरणले सर्तमा लाइन चालु राखेको जनाएको छ । ७ लाखभन्दा बढी रकम बक्यौता देखिए पनि एनएमको लाइन काटिएको छैन ।

 

अनारमनी वितरण केन्द्र मातहतका शाखा, प्रशाखामा १ लाखदेखि ५ लाखसम्म महसुल नबुझाउनेहरु कमै रहेको बताइएको छ । केहीले नियमित नबुझाएको खण्डमा पटक-पटक गरेर बुझाउने सुविधा दिइएको छ । पटक-पटक गरेर बुझाउनेहरुको लाइन काटिएको छैन । यता, ५ लाखभन्दा माथि बक्यौता हुनेहरुलाई महसुल बुझाउन कार्यालयको तर्फबाट ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन नै काटिएको अनारमनी वितरण केन्द्रले जनाएको छ ।

 

अनारमनी वितरण केन्द्रलाई साविकका चारपाने, घैलाडुब्बा, गोल्धाप, डाँगीबारी, चकचकी गाविसले समेत लाखौं रुपैयाँ महसुल बुझाउन बाँकी रहेको देखिन्छ । तत्कालिन गाविसहरुले सडकबत्तीमा विद्युत प्रयोग गरे वापत लाखौं रुपैयाँ महसुल बुझाएका छैनन् ।

 

चारपानेले ९ लाख ८९ हजार, गोल्धाप १४ लाख, घैलाडुब्बा ११ लाख , डाँगीबारी १४ लाख , चकचकी १४ लाख र राजगढ करिव १२ लाख बुझाउन बाँकी रहेको छ । ति गाविसले बुझाउनुपर्ने महसुल तत्तत् पालिकाहरुले बुझाउने कागज गरिसकेको सूचना अधिकारी ढकालले जानकारी दिए ।