अर्थ बजार

३६ किलो गाँजासहित एक पक्राउ, २ जना फरार

By admin

August 02, 2022

झापा । भारत लैजाँदै गरेको लागूऔषध गाँजासहित मोरङको जहँदा गाउँपालिका २ हरिनगराबाट मंगलबार बिहानको राति एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा गएको टोलीले राति १२ः४५ बजेतिर जहँदा २ का २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको हो ।

 

टाउकोमा बोकेर भारतको जोगवनीतिर लैजाँदै गरेको ३६ किलो गाँजासहित गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार विशेष सूचनाका आधारमा प्रहरी टोली पुग्दा तीन जना युवाले टाउकोमा बोकेर गाँजा भारततिर लैजाँदै थिए ।

 

प्रहरीलाई देख्नासाथ दुई जना भने गाँजा फालेर फरार भएको श्रेष्ठले बताए । ‘तीन जनाले टाउकोमा बोकेर गाँजा भारत लैजाँदै थिए,’ उनले भने, ‘एक जनालाई पक्राउ गरिए पनि अन्य दुईजना फरार भए ।’

 

फरार भएकाको खोजी तीव्र पारिएको श्रेष्ठको भनाइ छ । उनका अनुसार प्लाष्टिकमा प्याक गरेर ३६ किलो गाँजा भारत कटाउन खोजिएको थियो । पक्राउ परेका गुरुङविरुद्ध लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।