अर्थ बजार

साढे ६ दशकपछि सीटीसी चियाले ट्रेडमार्क पाउँदै

By admin

August 04, 2022

बिर्तामोड । खेती सुरु भएको साढे ६ दशकपछि सीटीसी चियाले ‘ट्रेडमार्क’ पाउने भएको छ । तराई क्षेत्रमा उत्पादित उक्त चियाको उत्पादन, प्रशोधन र बजारीकरणमा प्रयोग गर्ने गरी राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ट्रेडमार्क बनाइरहेको हो । यसको ट्रेडमार्क ‘नेपाल प्रिमियम सीटीसी टी’ लेखिएको हुनेछ ।

 

सर्टिफिकेसन ट्रेडमार्क बनाउने काम अन्तिम चरणमा पुगेको बोर्डको क्षेत्रीय कार्यालय बिर्तामोडले जनाएको छ । ट्रेडमार्कमार्फत स्वदेश र विदेशका उपभोक्तालाई नेपाली चिया चिनाउन तथा चियाप्रति आकर्षण बढाउन, नेपाली सीटीसी चियाको अन्तर्राष्ट्रिय बजार विस्तार एवं विकास गर्न र चिया उत्पादक, प्रशोधक, निर्यातकर्ता तथा चिया व्यवसायीको सामूहिक प्रतिस्पर्धात्मक क्षमता विकासमा सहयोग पुग्ने उद्देश्य राखिएको छ ।

 

‘नेपाली किसान तथा व्यवसायीले चिया उत्पादनमा हासिल गरेको विज्ञता र क्षमताबारे विश्व बजारका चिया व्यवसायी र पारखीलाई जानकारी गराउन तथा नेपाली सीटीसी चियाप्रति विश्वास दिलाउन ट्रेडमार्कले ठूलो भूमिका निर्वाह गर्न सक्छ,’ कार्यालयका निमित्त प्रमुख सुमन त्रिखत्रीले भने । बोर्डले ट्रेडमार्क कार्यान्वयन निर्देशिका बनाएको छ ।

 

बोर्डको तथ्यांकअनुसार मुलुकका २८ जिल्लामा गरिने चिया खेतीबाट वार्षिक २ करोड ८० लाख किलोभन्दा बढी तयारी चिया उत्पादन हुने गरेको छ । यसमा २ करोड २० लाख सीटीसी चिया उत्पादन हुने गरेको तथ्यांकमा उल्लेख छ ।

 

यसमध्ये झापामा मात्र वार्षिक १ करोड ५६ लाख किलोभन्दा बढी तयारी सीटीसी चिया उत्पादन हुने गरेको छ । उत्पादितमध्ये ६० प्रतिशत भारत निकासी हुने गरेको र ४० प्रतिशत मात्र आन्तरिक बजारमा खपत हुने गरेको बोर्डले जनाएको छ । इकान्तिपुरबाट