समाज

अर्जुनधाराका मेयर गोम्देनको पहलमा ३० जना चिया मजदुरले पाए टिनका छाना

By admin

August 07, 2022

बिर्तामोड । अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देनको पहलमा अर्जुनधारा ११ मा रहेका चिया मजदुरले टिनको छाना पाएका छन् । बिर्तामोडको गिरी बन्धु टि इस्टेटमा वर्षौदेखि काम गर्दै आएका चिया मजदुरले नयाँ टिनको छाना पाएका हुन् ।

 

पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ अर्जुनधारा नगरपालिका पर्छ भने दक्षिणतर्फ बिर्तामोड नगरपालिका पर्छ । चिया मजदुरहरुको बस्ने क्वाटर भने अर्जुनधारा नगरक्षेत्रमा छ । क्वाटरमा टिनकै छाना लगाइएको भए पनि वर्षौंदेखि पानी चुहिने अवस्थाबाट उनी गुज्रिरहेका थिए ।

 

वर्षौंदेखि चिया टिपेर जीविकोपार्जन गर्दै आएका मजदुरहरूको साझा समस्यालाई अर्जुनधारा नगर प्रमुख गोम्देनको विशेष पहलमा समाधान भएको छ । मजदुर बस्ने क्वाटरमा आज एक अनौपचारिक कार्यक्रम गरी ३० घरपरिवारलाई टिन हस्तान्तरण गरिएको हो ।

 

स्थानीय राजकुमार कार्कीले वर्षाको समयमा दिनभरि चिया बगानमा काम गरेर थाकेर घर फर्किंदा घरमा पानी पसेर निदाउन नसकेको पीडा सुनाए । उनले एक सासमा भने, ‘अब निदाउन पाइने भो !’ उक्त क्षेत्रमा आवश्यकताअनुसार ३० घरका परिवारले पुराना चुहिने टिनको छानामा नयाँ टिनले तत्कालै छाएका थिए ।

 

चिया मजदुरका क्वाटरमा टिनका छाना नभएका भने होइनन् । टिनका छाना त छन् तर पानी चुहिएर बस्नै नसकिने अवस्थामा पुगेको छ । पानीमात्र होइन घाम पनि छल्न सकिने अवस्था नभएको पीडितहरुले सुनाए ।

 

कार्यक्रममा ११ नम्बर वडाका अध्यक्ष खगेन्द्र इङनाम, वडा सदस्य केशव अधिकारी, मजदुर नेता सन्तकुमार राई, स्थानीय वीरबहादुर राई, बिपि कोइराला लगायतको उपस्थिति रहेको थियो ।