अर्थ बजार

जोरसालमा ३४ वर्षपछि ब्युँत्याइयो हाट

By admin

August 13, 2022

पाँचथर । पाँचथरको सबैभन्दा पुरानो बजार जोरसालमा ३४ वर्ष अगाडि बन्द भएको औंशी पूर्णिमा हाट पुनः सुरु गरिएको छ । घरेलु र कृषि उपजसहित रैथाने उत्पादनहरुको किनबेच हुने उक्त हाट स्थानीय निकाय र व्यवसायीहरुको अगुवाइमा सञ्चालन गरिएको हो ।

 

पाँचथरलाई यातायात सञ्जालले नजोडुन्जेलसम्म पाँचथरको फिदिम, भारपा, चोकमागु, लुम्फावुङ र नवमीडाँडासहित तेह्रथुमको आठराइ र ताप्लेजुङका अधिकांश स्थानका बासिन्दा घरेलु र कृषि उपज सँगै लत्ता कपडा र उपभोग्य वस्तु किनबेच गर्न यो हाटमा आउने गर्थे ।

 

३४ वर्ष अगाडिसम्म पाक्षिक रुपमा दिनभर लाग्दै आएको यो हाट स्थानीयहरूबीच भएको बेमेलका कारण २०४५ सालपछि बन्द भएको स्थानीय अग्रज काजिमान श्रेष्ठ बताँउछन् । यो हाट बजार अब तिथिका आधारमा प्रत्येक महिनाको औंशी र पुर्णिमामा लगाइने वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिए ।

 

हाट बजार उद्घाटनका क्रममा स्थानीय उपजका स्टलसँगै स्थानीय संस्कृतिमा आधारित झाँकी र लोक नृत्यहरु प्रदर्शन गरिएको थियो । उद्घाटनका अवसरमा स्थानीय कृषि उपजसँगै डोको नाम्लो, डालो, लाहा, फलफूल र कन्दमुल बिक्रीका लागि राखिएका थिए ।

 

हाट बजारको उद्घाटन गर्दै फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बजारमा ल्याइने कृषि र घरेलु उपजमा कुनै किसिमको कर नलिने प्रतिवद्धता जनाए । नगरपालिकाले यस वर्षदेखि नगर क्षेत्रमा लाग्ने सबैखाले हाट बजारमा बिक्री गरिने कृषि र घरेलु उपजमा कर लिन छाडेको छ । इकान्तिपुरबाट