अर्थ बजार

झापाका विद्युत महशुल नतिर्ने उपभोक्ताबाट पौने ३ करोड असुली

By admin

August 16, 2022

भद्रपुर । नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाले बाँकी बक्यौता नतिर्ने १ हजार ५ सय ९० जना उपभोक्ताको लाईन काटेर २ करोड ७५ लाख ३ हजार ४७ रुपैयाँ असुली गरेको छ ।

 

२०७८/०७९ को असार मसान्तसम्मको एक आर्थिक वर्षमा बत्ती उपभोग गरेवापत १ हजार ५ सय ९० जना उपभोक्तामध्येबाट २ करोड २४ लाख ९२ हजार ६ सय ६५ रुपैयाँ राजश्व असुली गर्नुपर्नेमा १ हजार ३ सय २४ जना उपभोक्ताले पुनः लाईन जोडेको हुँदा उनीहरुबाट सो रकम असुल उपर भएको हो । बाँकी रहेको ३ करोड रुपैयाँ बक्यौता यसै आर्थिक वर्षमा उठाईने कार्यालय प्रमुख धिरेन्द्रकुमार यादवले बताए ।

 

अघिल्लो आर्थिक वर्षमा २ सय ३९ जनाको लाईन काटी पुनंः जोड्ने २ सय ८१ जनाबाट ९८ लाख ८२ हजार एक सय ५१ रुपैयाँ कार्यालयले असुली गरेको थियो । गत आवको भन्दा २०७८/७९ को असार मसान्तसम्मको एक बर्षमा राजश्व बढेको र रकम समेत बढी असुलेको कार्यालय प्रमुख यादवले जानकारी दिए ।

 

उनले कार्यालयले आव २०७८/०७९ मा ४७ करोड ९७ लाख २० हजार २ सय ३० रुपैयाँ राजश्व संकलन गरेको बताए । यो अघिल्लो बर्षको तुलनामा ४ करोड ५३ लाख ७५ हजार ४ सय ४१ रुपैयाँ बढी भएको प्रमुख यादवको भनाइ छ ।

 

भद्रपुर, हल्दीवारी, कचनकवल, मेचीनगरको वडा नं १४ र १५ तथा बिर्तामोडको वडा नं ७ ,८ र १० सहित जम्मा ३० हजार ८ सय उपभोक्ताहरु यस कार्यालय मातहत रहेका छन् ।