समाज

नेपाल बन्दमा झापाका अधिकांश शैक्षिक संस्था बन्द

By admin

August 23, 2022

झापा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आंशिक असर देशभर परेको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी छिटफुट मात्रामा सञ्चालन भइरहेको जनाइएको छ ।

 

सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् ।

 

झापामा बन्दको प्रभाव सामान्य रुपमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहानैबाट निर्वाधरुपमा सवारी सञ्चालनमा रहेको र मानिसको चहलपहल पनि बढ्दै गएको जनाइएको छ । बन्दका कारण अधिकांश शैक्षिक संस्थाहरु भने बन्द भएका छन् ।

 

हालसम्म कुनै पनि स्थानमा बन्दकर्ता देखा नपरेको र कुनै अवरोध नभएको प्रहरीले जनाएको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको प्रहरी प्रवक्त बसन्त पाठकले जानकारी दिए ।

 

यता इलाममा पनि बिहानैबाट बन्दको प्रभाव परेको बताइएको छ । बन्दका कारण इलामका अधिकांश बजारहरु बन्द रहेका छन् भने सवारी सञ्चालन समेत नरहेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुमन सिंहले जानकारी दिए ।

 

सरकार र विप्लव समूहबीच २०७७ फागुन २० गते ३ बुँदे सहमति भएको थियो। सहमति कार्यान्वयनका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि नभएको भन्दै विप्लव समूहले आन्दोलन सुरु गरेको हो ।