अर्थ बजार

नगर विकास सहकारीबारे अर्जुनधाराका जनप्रतिनिधिसँग अन्तरक्रिया

By admin

August 25, 2022

शनिश्चरे । अर्जुनधारा नगर विकास बहुद्देश्यीय सहकारी संस्थाले सरोकारवालासँग अन्तरक्रिया गरेको छ । अर्जुनधारा नगरपालिकाका कार्यपालिका सदस्यसँगर सहकारीले अन्तरक्रिया गरेको हो ।

 

कार्यपालिका सदस्यहरुलाई नगर विकास सहकारीले गरिरहेका काम र संस्थाको लक्ष्य तथा उद्देश्यबारे जानकारी गराउँदै अन्तरक्रियामा समावेश गराएका हो । संस्थाका उपाध्यक्ष छत्र पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथि अन्तरक्रियाका सहभागीले आफ्ना जिज्ञासा राखे ।

 

विशेषगरी नगर कृषिमा आधारित भएकाले यस सहकारीले कृषकलक्षित कार्ययोजना अघि सारेको बताइएको छ । कृषिजन्य वस्तुको विज उत्पादन, कृषि उत्पादन, बजारीकरण, औद्योगिकरण र व्यवस्थापनमा जोड दिएर अघि बढेको यस सहकारीको चुनौती र अवसरका बारेमा संस्थाका उपाध्यक्ष पौडेलले कार्यपत्रमा उल्लेख गरेका छन् ।

 

नगरकार्यपालिकाका केही सदस्यहरुले नगर विकास सहकारीका बारेमा केही जानकारी नभएको, कुनै राजनीतिक दलको मात्र हो कि ? भन्ने जिज्ञासा राखेका थिए । त्यस्तै, सहभागीहरुले भइरहेका कामका विषयमा प्रश्न उठाए भने केहीले महत्वकांक्षी लक्ष्य र उद्देश्य राखेर अघि बढ्न गाह्रो हुन सक्नेतर्फ औँल्याएका थिए ।

 

यसैबीच, नगर विकास सहकारीका परिकल्पनाकार तथा निवर्तमान नगर प्रमुख हरिकुमार रानाले नगर र नगरबासीको समृद्धिका लागि संस्था खडा गरिएको बताए । उनले राज्यको एक पालिका एक नगर विकास सहकारीको अवधारणाअनुरुप संस्थाको स्थापना भएको बताए ।

 

नगर विकास सहकारी संस्था कुनै व्यक्ति, राजनीतिक दल कसैको नभएर सिंगो नगर र नगरबासीको भएको बताउँदै उनले समन्वय र सहकार्य गरेर अघि बढ्न आग्रह गरे । संस्थाका सञ्चालकलाई लक्षित गर्दै उनले भने, ‘अनुदानको आश गर्नु हुँदैन, काम गरेर देखाउने समय आएको छ ।’ उनले संस्थाको शेयर सदस्य कति छन् भन्नेमा भन्दा पनि उत्कृष्ट काम गरेर देखाउन आग्रह गरे ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख बलदेव सिंह गोम्देनले सहकारीले नगरमा रहेका सबैको सही तथ्यांक राख्न आग्रह गर्दै कृषकको परिचय दिँदा गर्व गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । विदेसिने युवालाई आत्मनिर्भर बनाउन संस्था सक्षम बन्नुपर्ने उनको भनाइ थियो ।

 

नगर र नगरबासीको हितमा जनप्रतिनिधि लाग्नुपर्ने बताएका उनले बोर्डकै सदस्यले अफवाह फैलाएको आरोप लगाए । उनले भने, ‘बोर्डमा बसेर भड्काउने काम भइरहेको छ, कार्बाही गर्नुहोस् ।’ बजारमा आएको हल्लालाई चिर्नका लागि पनि परिणाममुखी काम गर्न जरुरी रहेको औँल्याए ।

 

कार्यक्रममा कार्यपालिका सदस्यहरु हरिशचन्द्र बाँस्ताेला, गीताराज खड्का, सीताराम भट्टराई, कौशीलाल परियार, उपेन्द्र बस्नेतलगायतले आफ्ना भनाइ राखेका थिए । त्यस्तै, स्थानीय विपिन ओली, खेम काफ्ले, यामप्रसाद ढुंगेलले नगर विकास सहकारीका बारेमा जिज्ञासा राखे ।

 

अर्जुनधारा पशुपंक्षी विकास शाखा प्रमुख पदमलाल राई, कृषि विकास शाखाका अधिकृत लेनिन समशेर कुँवर, कृषि विज्ञ टेकबहादुर पोखरेल र संस्थाका उपाध्यक्ष पौडेलले सहभागीहरुको जिज्ञासामाथि प्रष्ट पारेका थिए । सोही कार्यक्रममा नगरपालिकाले संस्थाको २४ लाख ९० हजार मूल्यको शेयर सदस्य खरिद गरेको शेयरधनीको प्रमाणपत्र नगर प्रमुख गोम्देनलाई हस्तान्तरण गरिएको थियो ।

 

सात सय एक जना शेयर सदस्य रहेको नगर विकास सहकारीको सात वटा कार्यविधि निर्माण गरेको अध्यक्ष प्रत्युष रानाले जानकारी दिए । उनका अनुसार पाँच वटा कार्यविधि प्रमाणित पनि भइसकेको छ । संस्थाका सदस्य देवकला प्रसाईले सहभागीलाई स्वागत गरेकाे कार्यक्रम सदस्य पवन खनालले सञ्चालन गरेका थिए ।