खेलकुद

झापामा २७ खेलका ४४९ खेलाडी छानिए

By admin

August 29, 2022

भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा सञ्चालित जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको सोमबार औपचारिक समापन गरिएको छ ।

 

मेची रंगशालाको कभर्डहलमा आयोजित एक समारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रतियोगिताको औपचारिक समापन गरेका हुन् । यसअघि भदौ ४ गते प्रदेश नं १ को खेलकुद विकास बोर्डका सदस्य सचिव एवम् पूर्व खेलाडी हंशराज वाग्लेले पानसमा दीप प्रज्वलन गरेर प्रतियोगिता उद्घाटन गरेका थिए ।

 

५९औ राष्ट्रिय खेलकुद परिषद दिवसको समेत अवसर पारेर आयोजना गरिएको समापन समारोहमा प्रजिअ रिजालले खेलकुद देशको पहिचानको महत्वपूर्ण आधारस्तम्भ भएकोले खेलकुदलाई सबै क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने धारणा राखे । उनले खेल र खेलाडीलाई साधन–स्रोत र सुविधा यथोचित ढंगले उपलब्ध गराउन सक्दामात्र अपेक्षित प्रतिफल प्राप्त हुने पनि बताए ।

 

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले छनोट प्रतियोगिताको समग्र गतिविधिबारे जानकारी गराउँदै सीमित स्रोत–साधनका बाबजुत भव्य रुपमा छनोट प्रतियोगिता आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिएको बताए । उनले खेलाडीको छनोट निष्पक्ष र प्रतिस्पर्धात्मक ढंगबाट होस् भन्ने उद्देश्यका साथ सबै विधाका खेल समिति निर्माण गरी संयोजक तोकिएको पनि बताए ।

 

कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन र समितिका कार्यालय सचिव विष्णु नेम्वाङले स्वागत गरेको समारोहमा समितिकी उपाध्यक्ष गंगा कोइरालाले अतिथिहरुलाई खादा–माला पहिर्याएर स्वागत गरेकी थिइन् ।

 

सोही अवसरमा झापा जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षकको रुपमा लामो समय सेवा पुर्याएर सेवानिवृत्त भएका दुईजना प्रशिक्षकलाई सम्मान गरिएको थियो । झापामा हक्की खेललाई जीवन्त राख्न र हक्कीका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएका हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का र तेक्वान्दोका प्रशिक्षक प्रदीप श्रेष्ठलाई सम्मान गरिएको हो ।

 

उनीहरुलाई समारोहका प्रमुख अतिथि प्रजिअ रिजाल, नयाँ श्रीनाथ गणका प्रमुख सेनानी फडेन्द्र थापा, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक प्रदीपसिंह कार्कीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले सम्मानपत्र वाचन गरेका थिए ।

यसअघि खेलकुद परिसर सरसफाइ गर्नुका साथै मेची रंगशालाकका वरिपरि बृक्षारोपण गरिएको थियो । झापामा छनोट भएका खेलाडीले यही भदौ २४ देखि असोज ८ गतेसम्म सञ्चालन हुने १ नं प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिनेछन् । त्यसका लागि झापाबाट २७ खेलका ४४९ खेलाडी छनोट भएको समितिका कार्यालय सचिव नेम्बाङले जानकारी दिए ।

 

छनोटमा परेका खेलाडीलाई समितिले जर्सीका साथै अन्य आवश्यक सामग्री उपलब्ध गराउनेछ । छनोटमा परेका खेलाडीलाई आवश्यकता अनुसार क्लोज-क्याम्पमा अभ्यास गराइने पनि उनले जानकारी दिए ।