समाज

मेची राजमार्गमा दुर्घटना बढेपछि जेब्रा क्रसिङ

By admin

August 30, 2022

झापा । मेची राजमार्गमा बर्सेनि सवारी दुर्घटना बढेपछि बुद्धशान्ति गाउँपालिकास्थित तरुण दलले सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा होर्डिङ बोर्ड र ट्राफिक संकेत राखिदिने अभियान सोमबारदेखि सुरु गरेको छ ।

 

बुद्धशान्ति गाउँपालिका भएर इलाम जाने मेची राजमार्गमा बर्सेनि सवारी दुर्घटना भएर मानिसको मृत्यु हुने र दर्जनौं अपाङ्ग भएकाले विभिन्न स्थानमा ट्राफिक संकेत राखिएको हो । तरुण दलका बुद्धशान्ति गाउँपालिका सचिव अर्जुन मेन्याङ्बो लिम्बूका अनुसार मेची राजमार्गअन्तर्गत राष्ट्रिय मावि, बर्ने माविलगायत अन्य चार स्थानमा जेब्रा क्रसिङ चिह्न बनाइदिएको छ ।

 

उनले भने, ‘आवश्यक स्थानमा सवारी चालक, पैदल यात्रुका लागि भनेर १० स्थानमा ट्राफिक संकेत भएको ठूला ठूला होर्डिङ बोर्ड पनि लगाउने तयारी गरेका छौं ।’ बुद्धशान्तिभित्र मेची राजमार्ग करिब १५ किलोमिटर पर्छ ।

 

उनका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा बुद्धशान्ति गाउँपालिका भएर जाने मेची राजमार्गमा मात्र ९५ सवारी दुर्घटना भएको तथ्यांक सार्वजनिक भएको छ । उक्त दुर्घटनामा परी ४ जनाको मृत्यु भइसकेको छ । तरुण दलले जिल्ला ट्राफिक कार्यालय, स्थानीय तहसँग समन्वय गरेर गाउँपालिका क्षेत्र भएर जाने मेची राजमार्गमा ट्राफिक संकेत निर्माण र होर्डिङ बोर्ड राखिदिएको हो ।

 

उनका अनुसार ट्राफिक नियममा जेब्रा क्रसिङ भएको स्थानमा पैदल यात्री हिँडिरहेको अवस्थामा जुनसुकै सवारी साधन रोक्नुपर्छ । पैदल यात्रीले जेब्रा क्रसिङ पार गरेपछि मात्र सवारी साधन चलाउनुपर्छ । यस्ता ट्राफिक नियम पालना हुन सके सवारी दुर्घटनामा परी मानिसले ज्यान गुमाउनु नपर्ने सचिव मेन्याङ्बोले बताए ।

 

उनले भने, ‘सवारी साधनको बढ्दो चापले साँघुरिएको सडकमा पैदल यात्रु सवारी चालकले जान्नु पर्ने ट्राफिक नियमबारे जनचेतना फैलाउनका लागि निकट भविष्यमा ट्राफिक कार्यालयसँग समन्वय गरेर विभिन्न विद्यालयमा पनि विद्यार्थीलाई जानकारी दिने योजना बनाएका छौं ।’ इकान्तिपुरबाट