बिर्तामोड । आसन्न नवौं राष्ट्रिय खेलकुद र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता औपचारिकरुपमा सकिएको छ । जसमा २७ खेलका लागि ४४९ जना खेलाडी छनोट भएका छन् ।
यस वर्ष सहभागी खेलमध्ये बास्केटबलमा पहिलोपल्ट महिला खेलाडी पनि छनोट भएका छन् । १२ जना पुरुष खेलाडी छनोट हुँदा महिला खेलाडी पनि १२ जना छनोट भएको झापा बास्केटबल एशाेसिएशनका अध्यक्ष प्रकाश लिङदेनले बताए ।
बास्केटबलअन्तर्गत छनोट भएका महिलातर्फका खेलाडीमा उपासना क्षेत्री, विपासना बजगाईं, निष्मा कार्की, सुष्मा दाहाल, सपना मावो, प्रतिमा घिमिरे, आशा गुरुङ, ओशिन तामाङ, सोनिया कन्दङ्वा, इन्दु लिम्बू, पुनम लिम्बू र सुमी लामा रहेका छन् ।
यसैगरी, पुरुषतर्फ प्रतिक गोम्देन, सौगात विश्वकर्मा, उत्सव राजवंशी, लवकुमार गजमेर, नियारा लिम्बू, रोनल शाक्य, रोशित श्रेष्ठ, रोदन गुरुङ, मौसम विश्वकर्मा, सम्शेर हाङ लिम्बू, निराजन लिम्बू र नुनम कन्दङ्वा छनोट भएको एशाेसिएशनका अध्यक्ष लिङ्देनले जानकारी दिए । टोलीको प्रशिक्षकमा विशाल धिमाल र सहायक प्रशिक्षकमा सुरज खड्का रहेका छन् ।
झापा बास्केटबल एशोसिएसन र नेपाल बास्केटबल लिग (एनबिएल)ले झापाको बिर्तामोडमा दैनिकरुपमा निशूल्करुपमा अभ्यास गराउँदै आएको छ । प्रशिक्षणमा महिला तथा पुरुष गरी ५० जनाभन्दा बढीले अभ्यास गर्ने गरेको एशोसिएसन झापाका अध्यक्ष लिङ्देनले बताए ।