समाज

धनकुटाका दिनेश १३ महिनादेखि साउदी जेलमा, छुटाउन परिवारको हारगुहार

By admin

August 31, 2022

धनकुटा । चौबीसे गाउँपालिका ४ का २९ वर्षीय दिनेश कार्की जरिवाना रकम तिर्न नसक्दा विगत १३ महिनादेखि साउदीमा जेल जीवन बिताइरहेका छन्। दिनेशका परिवारले जेलमा रहेका छोरालाई छुटाएर नेपाल ल्याउनका लागि पहल गरिदिन सरकार समक्ष अनुरोधसमेत गरेका छन्।

 

वैदेशिक रोजगारीको सिलसिलामा उनी साउदीको अल हवाला फर ट्रेनिङ एन्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रूपमा काम गर्न ५ वर्षअघि पुगेका थिए। तर, कम्पनीले श्रम सम्झौंताअनुसारको सेवासुविधा नदिएपछि उनी बाहिरै अवैध रूपमा काम गर्न थाले। बाहिर काम गर्ने सिलसिलामा सवारीसाधन दुर्घटना भएपछि त्यहाँको सुरक्षाकर्मीबाट आफू पक्राउ परेको उनले टेलिफोनमार्फत् जानकारी दिए।

 

‘मसँग ड्राइभिङ अनुमतिपत्रलगायत सबै काजगात भए पनि अवैध रूपमा बसेको कारण कागजातले काम दिएन’, उनले भने, ‘अहिले त्यहाँको प्रशासनले ५७ हजार रियाल क्षतिपूर्तिबापतको जरिवाना भरेको छ। त्यो तिर्न नसक्दा विगत १३ महिनादेखि जेलमै छु।’

 

पहिले ठूलो जेलमा र अहिले सानो जेलमा स्थानान्तरण गरेका कारण आफू परिवारसँग सम्पर्कमा रहेको उनले बताए। उनका अनुसार आफू कहिले छुट्ने भन्नेमा टुंगो छैन। जेल परेपछि नेपाली राजदूतावाससँग पनि कुरा गरेको उनले बताए। उनले भने, ‘सरकारले मात्रै सहयोग गर्न सक्दैन। त्यसैले सामाजिक संघसंस्था र परिवार गुहार्नू र जेलबाट आफैं निस्कनु भन्ने जवाफ पाएँ।’

 

उनका अनुसार दूतावासले ‘यस्तो घटनामा धेरैजसो फस्छन्। सबैलाई सहयोग गर्न साध्य छैन’ भनेर भनेको भन्दै दुःखेसो पोखे। कार्कीको घर चौबीसे गाउँपालिका ४ स्थित फलामेटारको तमोर किनारमा छ। उनको घरमा अहिले बुवा गणेशबहादुर कार्की र आमा दुर्गाकुमारी कार्की मात्रै बस्छन्। बुवा शारीरिक रूपमा असक्त छन्। उनी सामान्य हिँड्डुल पनि गर्न सक्दैनन्।

 

छोरा जेलमा परेको खबर सुनेदेखि भोक निन्द्रा हराएको दिनेशका आमा दुर्गाकुमारीले बताइन्। ‘एक वर्षभन्दा बढी छोरासँग सम्पर्क थिएन। किन टाढियो भनेर मनमा सधै खुल्दुली भइरहन्थ्यो। पछि छिमेकी भाई महेन्द्र न्यौपानेले फोनमा कुरा गराइदिँदा सबै कुरा थाहा भयो,’ उनले भनिन्, ‘छोरा कतिबेला घर आइपुग्ला भन्ने प्रतीक्षामा छौं। हाम्रो आर्थिक अवस्था कमजोर छ। त्यत्रो क्षतिपूर्ति तिर्न सक्ने आर्थिक अवस्था छैन। उद्धारमा सरकारले सहयोग गर्छ कि भन्ने आसमा छौं।’

 

कार्कीका तीन दाजुभाइमध्ये दुई वर्षअघि जेठा दाइ र १ महिनाअघि माइला दाइ वैदेशिक रोजगारका लागि विदेश गएका छन्। घरसहित १५ रोपनी जग्गा छ। उब्जाउ खेत तमोर नदीको बाढीले पुरिदिएको छ। कार्की परिवारको तीन छोरामध्ये साउदी जेलमा रहेका दिनेश कान्छा छोरा हुन्। उनका परिवार आर्थिक रूपमा विपन्न रहेको छिमेकी महेन्द्र न्यौपानेले बताए। अन्नपूर्ण पोष्टबाट