शिक्षा

दिमागभन्दा ठूलो आँखा हुने चरा !

By admin

September 01, 2022

अस्ट्रिच यस्तो चरा हो जुन उड्न सक्दैन। यो चरा प्रजातिमा जीवित रहेकामध्ये सबैभन्दा ठूलो हो। यसले अन्य जीवित चरा प्रजातिका तुलनामा सबैभन्दा ठूलो अन्डा दिन्छ। तपाईं हामीलाई सायदै थाहा होला, यो चराको आँखा उसको दिमागभन्दा ठूलो हुन्छ। यसको आँखा लगभग २ इन्चसम्मको हुन्छ।

 

यो चरा ९ फिट अग्लो तथा १ सय ५० किलोग्रामसम्मको हुन्छ। यसको अन्डा पाक्न आधा घन्टाभन्दा बढी समय लाग्छ। यसले वर्षमा करिव ५० वटा अन्डा दिन्छ।

 

यो चरा लगभग ७० वर्षसम्म बाँच्छ। यसको दाँत हुँदैन। पाचन शक्ति मजबुत भएका कारण घाँस, कीरा फट्याँग्राहरूलाई यसले सोझै निल्दा पनि राम्रोसँग पचाउँछ।

 

जंगली अस्ट्रिच अफ्रिकाको सवाना क्षेत्रमा पाइन्छन्। पहिले एसियामा पनि पाइन्थे तर धेरै सिकारी बढेपछि यहाँका अस्ट्रिच घट्दै गए। अचेल नेपालमा मासुका लागि अस्ट्रिच पाल्ने चलन बढेको छ।

 

यो चराको पँखेटा त हुन्छ, तर उड्नका लागि होइन। यसले दौडँदा सन्तुलन बनाउन पँखेटाको प्रयोग गर्छ। त्यसका साथै नृत्य गर्दा तथा घामबाट बच्न पनि यसले पँखेटाको प्रयोग गर्छ। यो चरालाई पानी खान जरुरत नै पर्दैन। आफूले खाएका घाँसबाट नै पानीको मात्रा यसले पुर्‍याउँछ। यो चरालाई खाएको भोजन पचाउन लगभग ३६ घन्टा लाग्छ।

 

अस्ट्रिच ५० देखि ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडन सक्छ। अधिकांश चराको ३ वटा औंला हुन्छन्। तर, यसको खुट्टामा भने दुईवटा मात्रै औंला हुन्छन्। जसले उसलाई छिटो दौडन सहयोग मिल्छ। लगभग ३ किलोमिटर टाढाको वस्तुलाई पनि यसले सजिलै देख्न सक्छ। एजेन्सी