अर्थ बजार

दशैंको मुखमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

By admin

September 02, 2022

काठमाडौ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले मूल्य घटाएर पठाउँदा नघटाउने नेपाल आयल निगमले दशैंको मुखमा सरकारले डिजेल र मट्टितेलको मूल्य बढाएर जनतालाई थप समस्यामा पारेको छ । गएराति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो। निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेल १७८ रूपैयाँ लिटर पर्नेछ।

 

निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ। हाल पेट्रोल लिटरको १८१ रूपैयाँ र एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाइ इन्धन आन्तरिकको प्रतिलिटर १९० रूपैयाँ छ।

 

निगमले बिहीबार भारतीय आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ । निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १.३९ रूपैयाँ, डिजेलमा ६.१२ रूपैयाँ र हवाइ इन्धनमा ८.०१ रूपैयाँ बढेर आएको छ। मट्टितेल र ग्यासको भने भाउ केही घटेर आएको छ।

 

यसका बाबजुद १५ दिनमा ४८ करोड २४ लाख रूपैयाँ घाटा हुने स्थिति देखिएकाले मट्टितेल र डिजेलको भाउ बढाइएको निगमले बताएको छ। जारी विज्ञप्तिअनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३७८.०७ रूपैयाँ र डिजेलमा ११.१८ रूपैयाँ घाटा छ। पेट्रोलमा भने २.८२ रूपैयाँ नाफा छ। मूल्य समायोजनपछि पनि १५ दिनमा ३० करोड ५२ लाख रूपैयाँ घाटा हुने अवस्था रहेको निगमले बताएको छ।