समाज

ब्राउनसुगर कारोबारी मेचीनगरकी अप्सराबाट स्रोत नखुलेको साढे १० लाख बरामद

By admin

September 05, 2022

झापा । लागुऔषध ब्राउनसुगर बरामद गर्न पुगेको प्रहरीले स्रोत नखुलेको साढे १० लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका १५ स्थित निलकोठी निवासी ३० वर्षीया अप्सरा खातुन (राजवंशी) र ४३ वर्षीय मोहम्मद मोसाद आलम रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरू नाताले दाजु बहिनी हुन् ।

 

इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली विशेष सूचनाको आधारमा आइतबार बिहान ११ बजे अप्सराको घरमा लागुऔषध खानतलास गर्न पुगेको थियो ।

 

अप्सराको घरमा लागुऔषध बरामद नभए पनि ब्राउनसुगर नाप्ने मिनी डिजिटल तराजु दुई थान र नगद १० लाख ८२ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिए ।

 

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । यता प्रहरीका अनुसार केही दिनअघि काठमाडौँमा २४० ग्राम ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी थिइन् ।

 

ती महिलाले झापाकी अप्सराबाट ब्राउनसुगर खरिद गरी ल्याएको प्रहरीलाई बयान दिएकी थिइन् । सोही बयानको आधारमा काठमाडौँ प्रहरीले झापा प्रहरीलाई अप्सरालाई पक्राउ गर्न पत्राचार गरेको थियो ।