अर्थ बजार

दमकबाट ३३ पोका कपडासहित दुई पिकअप पक्राउ

By admin

September 05, 2022

झापा । भन्सार छलेर भित्र्याएको आशंकामा ३३ पोका कपडासहित दुई वटा पिकअप भ्यान (गाडी) प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ८ स्थित पशु हाट डाँडाबाट नियन्त्रणमा लिएको हो ।

 

कपडा लोड गरिराखेको प्रदेश १-०१-००१ ज ३४३८ नम्बर र मे १ ज २८०४ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलीप गिरीले जानकारी दिए ।

 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २८०४ पिकअपमा १४ पोका र अर्को पिकअपमा १९ पोका कपडा रहेको डीएसपी गिरीले बताए । ती पोकाहरूमा सुती सारी, सेडी सारी, सटिङ सुटिङ, कोटको कपडा, सुट, बेड कभर लगायतको सामान रहेको छ । सामान शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएको बताउँदै

 

‘बिल बिजकसँग क्युआर कोडको डाटा मिल्दैन, भिसिटीएस पनि शङ्कास्पद देखियो’, डिएसपी गिरीले भने, शङ्कास्पद कागजात फेला परेपछि राजश्व अनुसन्धानको कर्मचारी बोलाइयो । राजश्वका कर्मचारीले पनि कागजात केलाउँदा शङ्कास्पद भएको जानकारी गरायो, अनि मात्र सामान राजश्वमा बुझायौँ ।’

 

२२ लाख ६ हजार मुल्यबराबरको लत्ताकपडा, साढे चार लाखमा पिकअप र चालकहरू दीपक मेचे, दीपक भारतीलाई आवश्यक कारबाहीका लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय बुझाएको उनले बताए । प्रहरी स्रोतका अनुसार प्रहरीले बरामद गरेको लत्ताकपडा काँकडभिट्टा नाकाबाट भन्सार छलेर भित्राइएको हो ।

 

यता राजश्व अनुसन्धान कार्यालयका अधिकृत प्रकाश सुवेदीका अनुसार प्रहरीले राजश्व छलेको आशंकामा लत्ताकपडा बरामद गरी दुई वटा पिकअप बुझाएको छ । ‘लत्ताकपडाको बिल बिजक छ, कार्यालयले त्यसबारेमा अनुसन्धान गर्छ’, अधिकृत सुवेदीले भने, ‘अनुसन्धानपछि मात्र राजश्व छली गरेको वा नगरेको प्रमाणित हुन्छ ।’