खेलकुद

महिला साफः पाकिस्तानमाथि भारतको सहज जित

By admin

September 07, 2022

काठमाडौँ । साविक विजेता भारतले छैटौं संस्करणको साफ महिला च्याम्पियनसीपमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको समूह ‘ए’ को पहिलो खेलमा भारतले ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानमाथि ३-० को जीत हासिल गरेको हो ।

 

सुरुवातबाटै पाकिस्तानमाथि दबाब दिएर खेलेको भारतले सुरुवाती अग्रता भने उपहार गोलबाट लिएको थियो । खेलको २१औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानले आत्मघाती गोल गरेपछि भारतले १-० को अग्रता बनाएको थियो ।

 

पाकिस्तानका लागि डेब्यू खेलाडी कप्तान मारिया खानले रक्षापंक्तिमा रोक्ने क्रममा आफ्नै पोस्टमा गोल भएको थियो । त्यसको दुई मिनेटपछि ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २-० ले अगाडि बढाउन सफल भएकी थिइन् । त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गरेपछि भारतले ३-० को अग्रता लिनसक्यो । सोही नतिजा अन्तिमसम्म रहँदा भारतले जारी प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

 

यस जितसँगै ुसमूह एुको भारतले पहिलो खेलमै ३ अंक जोडेको छ । पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । विजयी भारतले अब दोस्रो खेल शनिबार माल्दिभ्सविरुद्ध खेल्ने छ भने पाकिस्तानले बंगलादेशको सामना गर्नेछ ।

 

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । यस्तै समूह बी मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।

 

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल खेल असोज ३ गते हुनेछ ।