झापा (एजेन्सी) । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । भारतले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै नेपालले जित निकालेको हो । नेपालको लागि खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।
नेपालका लागि खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै टिमलाई १-१ गोलको बराबरीमा ल्याए । ४९औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए । ६८औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए ।
जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेर समूह ‘बी’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । भारत २ खेलमा ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले हराएको थियो । भारतले पनि भुटानलाई ३-० ले हराएको थियो ।
दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ । प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउने छन् ।