लिलक सिटौला, इलाम बजारकी लाटीलाई प्रहरीले बलत्कार गरेको घटनाले विद्यार्थी आन्दोलित थिए । सबै विद्यार्थीहरुको साथबाट आन्दोलन पनि सफल भएको हामीले महसुस गरेका थियौँ । आन्दोलनको जडसूत्रमा गम्भीर भएर लाग्नुहुने आदरणीय दाइ टंक बस्नेत, दिपेन्द्र सेन्दाङ, राजन शर्मा, लोकबन्धु कन्दङ्वालगायत विद्यार्थी नेताहरु, बजार भित्रबाट निवज गुरुङ दाइको पनि साथ पाएका थियौँ । दुर्गा खरेल, अनिल सापकोटालगायत हामी धेरै जना थियौँ ।
त्यो बेला इलाम पढ्ने धेरै साथीहरुको नाम मैले पहिले पनि लेखेको थिएँ, वहाँहरुको पनि यस आन्दोलनमा साथ थियो । कांग्रेसी नेता तोयानाथ भट्टराई दाइको पूर्ण सहयोग र समर्थन थियो । आन्दोलन दबाउने डिएसपी (सायद थर चाहिँ मगर नै थिए), वहाँको तुरुन्तै सरुवा भो, असईलाई कारबाही भो, हाम्रो आन्दोलन पनि समाप्त भयो । त्यो बेला सदरमुकाममा डिएसपीहरुको चलखेल थियो । हाम्रो लागि त्यो पनि ठुलो कुरा भयो, हामी दंग परेका थियौँ ।
तर, त्यस लाटी काण्डको विरोधमा उत्रिएका हाम्रा चेली अर्थात् बहिनीहरु तरा भण्डारी, पवित्रा कार्कीहरु जागिरे थिए, जागिर खाएर अध्ययन गर्दथे । वहाँहरुको करारको जागिर पञ्चायतले खोसिदियो । त्यो बेला पञ्चायती व्यवस्था जिन्दावाद भन्नेहरुलाई सबै कुराहरुको सुविधा र छुट थियो । व्यवस्था विरोधीहरुलाई दुःख दिने चलन थियो ।
इलाम जिल्लामा साँच्चै बहुदलवादीहरुको राजनीतिमा बलियो पकड हुन थालेको हामीले महसुस गर्न थालेका थियौँ । किन भने इलाम जिल्ला त्यो बेलामा मण्डलेहरुको हातमा थियो । जेहोस्, प्रचलित कानुनअनुसारको जुनसुकै व्यवस्थाको थियो, र हुन्छ पनि । चलिरहेको विरोध गर्नु र गराउनेलाई व्यवस्थाविरोधी हो भने खेद्ने, थुन्ने अनि दुःख दिनेजस्ता कुरा संसारभरिकै नियमभित्र पर्दथ्यो । त्यो कुरा हामीलाई थाहा थियो र थाहा भएर पनि हामी व्यवस्थाका पहरेदारसँग निहुँ खोज्न जान्थ्यौँ ।
विरोधीहरुलाई सजाय दिने काम सरकारको हो । हामी जानी जानी सजाय पाए हुन्थ्यो भन्ने पथमा थियौँ । पञ्चायतले धेरै पेले भने आम नागरिक बहुदलप्रति आकर्षित हुन्छन् र व्यवस्था जुनै बेला पनि आन्दोलनबाट फ्याँक्न सकिन्छ भनेर हामी होमिएका थियौँ । हाम्रो काम भनेको पञ्चायतले गलत काम गरे अर्थात् (त्यसबेलाका पञ्चहरुले) भने त्यसको विरोध गरेर जनतालाई सचेत अर्थात जागरण गराउनु थियो । महेन्द्ररत्न बहुमुखी क्याम्पस पछि के भयो कुन्नि ? हामी नेविसंघ र अन्य कम्युनिष्ट विद्यार्थी, त्यसबेलामा पनि विभिन्न नाम गरेर विद्यार्थीहरु छरिएका थिए । कोही अखिल पाँचौ भन्थे, कोही रसियन फेडेरेसन यस्ता धेरै नामहरुका माध्यमबाट कोही केशर रायामाझी पनि भन्थे । जेहोस्, हामीबीच राम्रो कता थियो ।
तर, त्यो एकतामा तिक्तता आउन थालेको अनुभव टंक, राजन, दुर्गा, निर्मल, रमेश अमर अरु धेरै साथीहरुले महसुस गर्न थाले । पछि गएर हाम्रो एकता पनि भंग भयो । यो किन भो? यस हरफमा जाँदै गर्दा हाम्रो एकता देखेर त्यसबेलाको प्रशासन आत्तिएको रहेछ । पञ्चायतका हिमायतीहरुबाट हाम्रो एकता भाँड्ने काम भित्र भित्रै गर्न थालिएको रहेछ ।
वास्तवमा पञ्चायत यस्तो व्यवस्था थियो, ‘भाइ भाइ फुटाओ, राज करोँ’ यही विशेषताबाट पञ्चहरुले व्यवस्था टिकाएका रहेछन् । त्यस बेलाको व्यवस्थाले राजनीतिमा कुटनीति मिसाएर धेरै काम गरेको रहेछ । तानाशाही भए पनि केही कुरा राम्रा पनि थिए, चुनाव गराउनु । सेना, प्रहरी प्रशासनहरु, अञ्चलाधीशमार्फत राम्ररी चलेको रहेछ । झापा जिल्लाको भन्दा इलाम जिल्लाको राजनीतिमा मैले अति रमाइलो पाएँ । पञ्चहरुमा डिगबहादुर कोइराला र अन्य सबै पञ्चायतका नेताहरु कुशल र सुझबुझ राजनीति भएको मैले पाएँ ।
इलामबाट झापा र झापाबाट इलाम पढाइको सिलसिलामा आवतजावत भइ नै रहन्थ्यो । देशभरि नै विद्यार्थी संगठनहरुको चुनाव र विद्यार्थी साथै संगठनको छनोट प्रक्रियाले क्याम्पसहरु तातेका थिए । त्यो बेलाका साथीहरुसँग मेरो सरसल्लाह भइरहेको थियो । नेविसंघको अध्यक्ष पदमा उठ्ने तयारी भइरहेको थियो । यही समय घरबाट खबर आयो, बुबा बिरामी हुनुहुन्छ भनेर । मैले साथीहरुसँग बिदा मागेँ । बजारबाट सयपत्री बस चल्दथ्यो, त्यो पनि बस्नेत परिवारकै थियो । त्यसका गुरुजी अर्जुन मगर हुनुहुन्थ्यो । वहाँको घर शनिश्चरेको पाराखोपीमा थियो । दाइ नमस्कार भनेँ । दाइले बुझ्नुभो । किन भने हामीसँग सीमित खर्चभन्दा बढी हुन्थेन । बसका सबै सिट भरिएका थिए । अर्जुन दाइले मलाई बसको छतमा बस्ने आज्ञा दिनुभो, मेरो झापा यात्रा प्रस्थान भो ।