झापा । झापाको छुट्टाछुट्टै तीन स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका, बुद्धशान्ति र हल्दिबारी गाउँपालिकामा घटना भएको हो ।
याङबरक गाउँपालिका ६ पाँचथर घर भइ बुद्धशान्ति २ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराईली बुद्धशान्ति गाउँपालिका ३ मा रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए । उनकाे स्थानीय सिटी अस्पताल बुधबारेमा सामान्य उपचार गरिएकाे थियाे । घाइते रसाईलीको थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो ।
यता हल्दीबारी गाउँपालिका ५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ स्थानीय भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै, मेचीनगर नगरपालिका ५ को हडिया खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा घाइते भएका मेचीनगर नगरपालिका ११ धाइजनका ४७ वर्षीय सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खोलामा करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाइए पनि लुकिछिपी माछा मार्ने क्रम रोकिएको छैन ।