अर्थ बजार

अलैंचीको मूल्यसम्बन्धी समाचारप्रति महासंघको आपत्ति

By admin

September 14, 2022

झापा । काठमाडौंको एउटा अनलाइनले अलैंचीको मूल्यको सम्बन्धमा प्रकाशित गरेको समाचारप्रति नेपाल अलैंची व्यवसायी महासंघले आपत्ति जनाएको छ । काठमाडौंको एक अनलाइनले बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले भनाइ उद्धृत गर्दै अलैंचीको मूल्यको विषयमा लेखेको समाचारले अलैंची कृषक, व्यवसायी तथा निर्यातकर्तामा भ्रम सिर्जना गरेको भन्दै महासंघले आपत्ति जनाएको हो ।

 

समाचारअनुसार भारतले नेपाली अलैंची प्रतिकिलो सात सय रुपैयाँमा खरिद गरेर आफ्नो ब्राण्डमा खाडी देशहरुमा प्रतिकिलो १७ सयमा बिक्री गर्दै आएको जनाइएको छ ।

 

सोही विषयलाई लिएर महासंघले एक विज्ञप्ति जारी गर्दै समाचारमा अलैंचीको मूल्यको विषयमा उल्लेखित कुरा तथ्यहीन भएको स्पष्ट पारेको छ । अध्यक्ष निर्मल भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको प्रतिस्पर्धात्मक बजारमा कुनै पनि वस्तुको मूल्य पारदर्शी हुने गर्दछ, विश्व बजारमा मूल्य निर्धारण हुँदा समाचारमा भनिएजस्तो मूल्य निर्धारणको अन्तर हुँदैन, यसैले यो तथ्यहीन र कपोलकल्पित छ ।’

 

अनलाइनले भदौ २६ गते आइतबार ‘भारतले नेपाली अलैँची ७ सय रुपैयाँमा किनेर खाडी देशमा १७ सय भारुमा बेच्छः अध्यक्ष गोल्यान’ शीर्षकमा प्रकाशित गरेको समाचारको तेस्रो अनुच्छेदमा लेखिएको छ, ‘अध्यक्ष गोल्यानले भारतले नेपाली अलैँची सात सय रुपैयाँमा आयात गरेर खाडी देशमा १७ सय भारुमा निर्यात गर्ने गरेको बताउनुभयो ।’

 

 

उहाँले नेपाली युवाले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सिबिफिनले आर्थिक सहयोग गर्नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी अलैँची सात सय रुपैयाँमा भारतमा निर्यात गर्छौँ ।

 

त्यही अलैँची भारतले १७ सय भारुमा खाडी देशमा बिक्री गर्छ । नेपाली कृषिजन्य उत्पादनलाई बाहिर निर्यात गर्ने व्यवसाय गर्नुहुन्छ भने बैंक तथा वित्तीय संस्था परिसङ्घ र वाणिज्य बैंकहरूले पैसाको कम हुन दिँदैन । त्यसका लागि सहयोग गर्ने प्रयासमा छौँ । अब नेपाली भएर नेपाली लगाऔँ, नेपाली खाऔँ ।’

 

सोही अनुच्छेदप्रति कडा आपत्ति जनाउँदै महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि मूल्यको गिरावटले प्रताडित कृषक तथा व्यवसायीहरुमा यसप्रकारका तथ्यहीन सूचनाको प्रभावले अन्योल तथा भ्रम सिर्जना हुने हुँदा अनर्गल प्रचार नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौँ ।

 

साथै, यसप्रकारका हल्ला र भ्रामक समाचारका पछि नलाग्न, आधिकारिक तथ्य र सूचनाको लागि नेपाल अलैंची व्यवसायी महासंघसँग सम्पर्क गर्नुहुनका लागि कृषक, व्यवसायी तथा सञ्चारकर्मीहरुमा हार्दिक अपिल गर्दछौँ ।’