झापा । तीस ग्राम ब्राउन सुगरसहित दमकका एक व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो १ः३० बजे मेचीनगर ६ स्थित मेचीपुल छेउमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा दमकका मनोज कुमार पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दमक १ सुनौलो टोल बस्ने २१ वर्षीय मनोज कुमाललाई लागूऔषधसहित पक्राउ गरेको हो ।
उनको साथबाट ३० ग्राम ब्राउनसुगर फेला परेपछि नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसअघि झापाको मेचीनगर नगरपालिका १३ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरको कारोबारमा लागेकी एक महिलालाई नगदसहित पक्राउ गरेको थियो ।
विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले मेचीनगर १३ फुलबासा चौक बस्ने ४३ वर्षीया भारती राजबंशीलाई पक्राउ गरेको हो ।
उनको घरबाट १२ ग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान, नेपाली रुपैयाँ ३ लाख ५३ हजार ५ सय बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।