अर्थ बजार

अर्जुनधारामा पशुपन्छीको बिमा गर्न घर-घर पठाइने

By admin

September 23, 2022

शनिश्चरे । झापाको अर्जुनधारामा पशुपन्छीको बिमा गर्नका लागि घर-घर पुगेर सेवा उपलब्ध गराइने भएको छ । अर्जुनधारा नगरपालिकाको समन्वयमा नगरमा रहेका कृषकको घरमै पुगेर पशुपन्छी बिमाको सेवा उपलब्ध गराइने भएको हो ।

 

नगरको पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा आज एक दिवसीय पशुपन्छी बिमासम्बन्धी अभिकर्ता अभिमुखिकरण तालिम प्रदान गरिएको छ । कृषकहरुको पहुँचमा बिमा कार्यक्रमलाई पुर्याउँदै उनीहरुको पशुपन्छी धनको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको आयोजक शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।

 

बिमा गरिने पशुपन्छीको बिमा रकममध्ये ८० प्रतिशत सरकारले र बाँकी २० प्रतिशतको ५० प्रतिशत नगर सरकारले व्यहोर्ने भएको छ । कृषकले मात्र १० प्रतिशत बिमा रकम व्यहोरेको खण्डमा पशुपन्छी धनको सुरक्षा हुने पनि शाखा प्रमुख राईले जानकारी दिए ।

 

उनका अनुसार पशुपन्छी धनको क्षति न्यूनीकरणका लागि नगर सरकार प्रभावकारीरुपमा प्रस्तुत हुनका लागि यस वर्षदेखि कृषकको घर- घरमा पुगेर बिमा गर्न अभिकर्ता खटिनेछन् । जसका लागि प्रत्येक वडाबाट २ जनाका दरले तालिममा सहभागी गराइएको बताइएको छ । तालिमबाट १० जना महिलासहित २६ जना अभिकर्ता तयार पारिएको राईले बताए ।

 

गतवर्ष ३ करोड रुपैयाँबराबरको पशुपन्छी बिमा गरिएको थियो । यसवर्ष १२ करोडबराबरको बिमा गर्ने उद्देश्य लिइएको छ । शाखाका अनुसार कृषकले पालेको भैँसीको ८० हजारदेखि १ लाख, खसीबाख्राको ४ हजारदेखि ५० हजार, बोयरको १ लाख र सुंगुरको १० हजारदेखि ५० हजारसम्मको बिमा गरिने अनुमान गरिएको छ । जसमा लेयर कुखुरामात्र २० हजार वटा समावेश गरिने योजना छ ।

 

तालिमबाट छनोट भएका अभिकर्तालाई सोमबारदेखि नगरका कृषकहरुको घर-घरमा पशुपन्छी बिमा गराउनका लागि खटाइने आर्थिक विकास समितिकी संयोजक गौरीमाया चिमरियाले बताइन् ।

 

सहजकर्ताद्वय एभरेष्ट बिमा कम्पनीका प्रबन्धक लेखनाथ पोखरेल र प्रुडेन्सियल बिमा कम्पनीका प्रबन्धक दीपक पोखरेलले सहजीकरण गरेको तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

 

आर्थिक समितिकी संयोजक एवम् नगर कार्यपालिका सदस्य गौरीमाया चिमरियाको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा स्वागत सदस्य सीता कँडेलले गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।