अर्थ बजार

पशुपति नाकाबाट पशु तस्करीः ३ गाडी चौपाया प्रहरी नियन्त्रणमा

By admin

September 30, 2022

इलाम । गाडीमा हालेर नेपालबाट भारततर्फ अवैध रुपमा लाँदै गरेको अबस्थामा १२ वटा गाई र २ वटा गोरुसहित गाडी र चालकलाई इलाम प्रहरीले नियन्त्रणमा लिएको छ । यस घटनाले पशुपतिनगर नाका भएर पशु तस्करी हुने पुष्टि गरेको छ ।

 

बुधबार राति ९ः३५ बजे ईलाम सूर्योदय नगरपालिका ९ बरबोटेस्थित ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी नायव निरीक्षक भुवनसिंह बोगटीको कमाण्डमा खटिएको चेकिङ टोलीले प्रदेश नं. १-०१-००१ ज ३५२९, मे. १ च ३२३५ र मे १ च ६८३३ नम्बरका ३ वटा गाडीलाई नियन्त्रणमा लिएको हो ।

 

नेपालबाट भारततर्फ १२ वटा गाई र २ वटा गोरु अवैध रुपमा लाँदै गरेको अवस्थामा फेला पारी चालकसहित गाडी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय पशुपतिनगर पठाएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए ।

 

नियन्त्रणमा लिइएका चालकहरुमा ईलाम सूर्योदय नगरपालिका ३ बस्ने २१ वर्षीय रिगेन राई, सोही स्थान बस्ने २५ वर्षीय सुरज राई र इलाम सन्दकपुर गाउँपालिका १ बस्ने ३५ वर्षीय टंक गुरुङ रहेको सुवेदीले जानकारी दिए ।