समाज

बिर्तामोडमा बढी भाडा असुल्ने ७ वटा गाडीलाई कारबाही

By admin

October 03, 2022

झापा । बिर्तामोड बसपार्कमा दशैंको मौका छोपेर यात्रुहरुबाट बढी भाडा असुल्ने ७ वटा यात्रुवाहक सवारीसाधनलाई झापा ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

 

बिर्तामोडबाट इलामलगायत पहाडी क्षेत्रतर्फ जाने साना सवारीसाधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी निरीक्षक अशोक जवेगुले बताए । काउन्टरमा टिकट काट्न नदिई निर्धारितभन्दा बढी भाडा असुल्ने, रिजर्भमा मात्र जान खोज्ने सवारीसाधनलाई कारबाही गरिएको उनले बताए ।

 

कतिपय सवारीसाधनबाट असुलिएको बढी भाडा यात्रुलाई फिर्ता गराएको समेत जवेगुले जानकारी दिए । बिर्तामोड बसपार्कमा दशैंमा इलाम फर्किने यात्रुलाई सवारीसाधनहरुले धेरै दुःख दिएको गुनासो आएको थियो ।

 

रिजर्भ भए जाने, नभए नजाने सर्त चालकले राख्ने, बिर्तामोडदेखि इलामसम्मको भाडादर ४३० रुपैयाँ रहेकोमा एक हजार भाडा माग्नेजस्ता समस्या यात्रुहरुले भोगेका छन् । सवारीसाधनहरुले ४३० रुपैयाँको ठाउँमा ५०० असुलिरहेको यात्रुहरुले बताएका छन् । बढी भाडा लिने सवारीलाई ५०० देखि एक हजारसम्म जरिवाना गरिएको छ ।

 

चाडबाडमा यात्रुहरु समस्यामा नपरुन् र नठगिउन् भनेर जिल्लाका १२ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । झापाकाे काँकरभिट्टा, धुलाबारी, चारआली, बुधबारे, बिर्तामोड बसपार्क, लक्ष्मीपुर, सुरुङ्गा, झिलझिले, केर्खा, दमकलगायतका स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी निरीक्षक जवेगुले बताए ।

 

यात्रुहरुलाई सुरक्षित गन्तव्यसम्म यात्रा गराउन चार सिफ्टमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ । बिहान ७ देखि १०, ११ बजेदेखि दिउँसो २, ३ बजेदेखि साँझ ६ र ७ बजेदेखि राति १० बजेसम्म चेकजाँच गरिरहेको जवेगुको भनाइ छ ।