ताप्लेजुङ । सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा रहेको आईएमईबाट नगद तथा गरगहना लुटपाटमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नगद ६ लाख र झोलामा रहेको गरगहनासहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिए । बिहान ११ बजेतिर भानुजन मावि छेउमा निर्माणाधीन बसपार्कबाट ओरालो लागेका उनलाई प्रहरीले त्यही क्षेत्रबाट पक्राउ गरेको हो ।
फुङलिङ नगरपालिका निवासी भए पनि उनको विवरण प्रहरीले खुलाएको छैन । अरुको खोजी भइरहेको राईले बताए । लुटपाटमा चार जनाको संलग्नता रहेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।
चार जनामध्येका एक जनाले बाहिर रुंगेको, दुई जनाले कर्मचारीलाई नियन्त्रणमा लिएको र एक जनाले सीसीटीभी बन्द गराएकोसम्म फुटेजमा देखिएको छ । उनीहरूले ११ लाख ५५ हजार नगद र गरगहनासहितका सुनका सामग्री लगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
फुङलिङको वीरेन्द्र चोकमा रहेको आईएमईमा कार्यरत कर्मचारीलाई आइतबार बेलुका हामीले जाकटी राखेको गहना उकासेर लैजानुपर्ने छ भनेर फोन गरेका थिए । सोमबार बिहान करिब ८ः३० बजेको समयमा आईएमईमा गएर गहना हेरिदिन भनेका थिए ।
आईएमई सञ्चालक कर्मचारी रेकर्ड हेर्न कार्यालयमा गएका बखत पछिपछि गएर नियन्त्रणमा लिई लुटपाट गरेको सीसीटीभी फुटेजमा देखिएको आईएमई सञ्चालक अम्बरकुमार श्रेष्ठले बताए । सञ्चालक अम्बर र उनका पत्नी मैया श्रेष्ठ भने गत मंगलबार भ्रमणका लागि अस्ट्रेलिया पुगेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले लुटेरा समूहको खोजी गरिरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संलग्न व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिएको छ । इकान्तिपुरबाट