समाज

बिर्ताबजारको दुर्गा मन्दिरमा दानपेटिकाबाट रकम चोरी

By admin

October 05, 2022

झापा । बडादशैंमा दर्शनका लागि भक्तजनहरुले बिर्ताबजारस्थित दुर्गा मन्दिरमा चढाएको हजारौं रकम दानपेटिकाबाट चोरी भएको छ ।

 

गएराति मन्दिरभित्र रहेको दुई वटा दानपेटिकामध्ये एउटा दानपेटिका बाँसको अंकुशले तानेर चोरले रकम चोरी गरेका हुन् । महाअष्टमीदेखि भक्तजनहरुले चढाएको सो दानपेटिकामा २५ हजारभन्दा बढी रकम जम्मा हुनसक्ने देवी मठमन्दिर संरक्षण एवं पूजा समितिका अध्यक्ष बासु माझीले बताए । आज बिहान ३ बजे नित्यकर्मका लागि आउँदा मन्दिरका पुजारी हरि अधिकारीले दानपेटिका चोरी भएको थाहा पाएका थिए ।

 

बिर्ताबजारको बीच बजारमा सो मन्दिर रहेको छ । बिर्तामोड ३ नम्बर वडा कार्यालयको सामुन्ने रहेको सो मन्दिरबाट प्रहरी चौकी बिर्ताबजार सय मिटर टाढा पनि छैन । एउटा दानपेटिका चोरी भएर अर्को चाहिँ लान नपाएको बताउँदै अध्यक्ष माझीले मन्दिरको मूर्तिमा रहेका बहुमूल्य गरगहनाहरु भने जोगिएको जानकारी दिए ।

 

एउटा दानपेटिका चोरी भएपछि लुकाइएको अर्को दानपेटिका सामुन्नेको वडा कार्यालयमा सुरक्षा गार्डले रात्रि गस्ती गरिरहँदा र नजिकै प्रहरी चौकी रहँदासमेत बीच बजारको मन्दिरबाट दानपेटिका चोरी हुनुले सुरक्षा चुनौती थपिएको छ ।

 

बडादशैंको अवसरमा श्रद्धालु भक्तजनहरुले त्यस धार्मिक एवं ऐतिहासिक मन्दिरमा नगद, गरगहना र पशुबलि चढाउने गरेका छन् । गत वर्षमात्र सडकमा परेको पुरानो दुर्गा मन्दिरलाई भत्काएर छेउमै नयाँ मन्दिर निर्माण गरिएको हो ।