शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका भएर बग्ने बिरिङ खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । अर्जुनधारा ४ स्थित बिरिङ खोलामा घोप्टो परेको अवस्थामा महिलाको मृत शरीर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार स्थानीय बिरिङ खोलामा अर्जुनधारा ५ की अन्दाजी ५० वर्षीया गंगा भण्डारीको शव फेला परेको हो । उनको शव खोलामा तैरिरहेको अवस्थामा फेला परेको प्रत्यक्षदर्शीले बताए । प्रत्यक्षदर्शीका अनुसार घोप्टो परेको अवस्थामा फेला परेको महिलाको शव पल्टाएर हेर्दा अर्जुनधारा ५ की भण्डारीको शव पहिचान भएको थियो ।
महिलाको शव खोलामा देखिएपछि स्थानीयले प्रहरीलाई आज अपराह्न ४ः४० बजे खबर गरेका थिए । तत्काल प्रहरी चौकी शनिश्चरेको टोली घटनास्थल पुगेको थियो । आज दिउँसोतिर खोलामा हाम फालेको स्थानीयले अनुमान गरेका छन् ।
मृतकको शरीरमा कुनै किसिमको घाउ, चोट नदेखिएको बताइएको छ । तर, खोलामा हाम फालिसकेपछि केही मिटर बगाएको अनुमान गरिएको छ । आज दिउँसो खोलामा पानीको बहाव बढेको भए पनि अहिले सामान्य रहेको छ ।
परिवार स्रोतका अनुसार आज बिहानैदेखि उनी घरबाट सम्पर्कविहीन थिइन् । उनले परिवारसँग सम्बन्ध विच्छेद गरेर माइती घर कञ्चनबारीमा बस्दै आएको बताइएको छ ।
महिलाको शवलाई प्रहरीले अर्जुनधारा ४ का वडाध्यक्ष अमरबहादुर कटुवाल र मृतककी भदै आशिष भण्डारीलगायत स्थानीय बासिन्दाको रोहवरमा मुचुल्का उठाइ परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।